• ८ मंसिर २०८१, शनिबार

लोकप्रियस्थल ‘सदर चिडियाखाना’

blog

भाईबहिनीहरु तपाईहरुलाई घुम्न कत्तिको मनपर्छ ? घुम्न जाने ठाउँमध्य तपाईहरुको पहिलो रोजाईमा पक्कै चिडियाखाना नै पर्छ होला । हामी मानिसहरुको बस्ने घर भनेजस्तै चिडियाखानालाई जनावरहरुको घर भन्न सकिन्छ । 

सदर चिडियाखाना (सेन्ट्रर जू) नेपालको सबै भन्दा पुरानो चिडियाखाना हो । यो बालबालिकाले अत्यन्तै मन पराउने गन्तव्य हो । जुन ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । जाउलाखेल, लगनखेल जाने सार्वजनिक सवारीसाधनमा चढेर सजिलै चिडियाखाना पुग्न सकिन्छ ।

प्रत्यक्ष रूपमा आफूले नदेखेका पशुपन्छीहरू चिडियाखानामा देख्न पाउँदा बच्चाहरु धेरै रमाउँछन् । अझै विशेष गरी साना–साना नानीबाबुहरूलाई लक्षित गरी चिडियाखानाको स्वरुप मिलाइएको छ । साना–साना नानीबाबुहरूले जीवहरू किताबमा मात्र देखेर चित्र कोर्ने गर्छन् । तर साक्षात् आफ्नो अगाडि देख्दा झनै बढी खुशी हुन्छन् ।

चिडियाखानाको जनावर जस्तै, बाँदर, बाघ, पिकक्क र चराचुरुंगीहरूको सुमधुर स्वर र एकापसमा खेलेको देख्दा बच्चाहरु रमाउने गर्छन् । यसबाहेक किताबमा देखेका जनावरहरु आँखा अगाडी देख्दा बाहिर आएर आक्रमण गर्छन् कि भन्ने डर पनि मान्ने गर्छन् । 

बालबालिकाहरुले घाममा सुतिरहेको गोही देख्दा किताबमा जस्तै नक्कली होला भन्ने सोचेर रमाउने गर्छन् । कोही सुतेको जनावर देख्दा त्यसलाई बिरामी, दुखी वा अल्छिको संज्ञा दिने गर्छन् । 

चिडियाखानामा अहिले पाँच वटा बाघ, दुई वटा गैंडा, एक हात्ती रहेको छ । ती मध्य सबैभन्दा बुढो जनावर पनि हात्ती नै हो । यी जनावरहरु बालबालिकाहरुले धेरै मन पराउने जनावरअन्र्तगत पर्दछन् ।   


बाघ, हात्ती र गैंडा चिडियाखानाका सबैभन्दा नाम चलेका जनावरहरु हुन् । यी सबै जनावरलाई मौसम अनुसार खानेकुरा दिनुपर्छ । जस्तै, जाडो मौसममा बाघले प्रत्येक दिन पाँच केजी र गर्मी मौसममा ६ केजी मासु खान्छ । मानिसहरुलाई पनि जनावररुलाई जस्तै खानेकुरा मिलाएर दिने गरिन्छ । त्यसकारण चिडियाखानामा जनावरुहरुलाई आफूले लगेको खाना खुवाउन नहुने नियम छ । 

यस्तै, चारदेखि १२ वर्षमुनिका बालबालिकालाई निशुल्क प्रवेश, १२ वर्षभन्दा मुनिका बालबालिकालाई लागि ७५ रुपिँया र त्यसभन्दा माथिका विद्यार्थीहरुका लागि १३५ रुपियाँ प्रवेश शुल्क रहेको छ । 

चिडियाखानाले बाबालिकाहरुका लागि धेरै राम्रो व्यवस्था अनि सुविधा उपलब्ध गराएको रहेछ । साना नानीबाबुहरूलाई खेल्नका लागि निशुल्क पिङ, चिप्लेटी, फन गेम जस्ता अन्य खेल खेल्ने सुविधा रहेको छ । यस्तै, खानेपानी, शौचालय र फोहोर फाल्ने भाँडाहरूको पनि राखिएको छ ।

यस बाहेक घुम्दै विभिन्न खानाको स्वाद पनि लिन सकिने व्यवस्था गरिएको छ । जस्तै, चिप्स, चकलेट, जुसलगायत अन्य वस्तुहरूको पसल पनि छ । खुला ठाउँका साथै घरबाट बनाएर ल्याएका परिकारहरू पनि बसेर खान, रमाइलो गर्न मिल्ने स्थान भएकाले निकै रमणीय स्थल मान्न सकिन्छ ।

सदरचिडियाखानाको क्षेत्रफल ६ हेक्टर (१२० रोप्नी) रहेको छ । हाल यस सदर चिडियाखानामा बाघ, भालु, हात्ति, सिंह, गैंडा जस्ता स्तनधारी, मुनाल, खोयाहाँस, अष्ट्रिच जस्ता पन्छी तथा विभिन्न घस्रने जीव र माछा रहेका छन् । 

नेपालमा लोप हुन लागेका सुचिकृत दुर्लभ वन्यजन्तुहरूमध्ये ११३ प्रजातिहरूलाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । यस सदर चिडियाखानाले अन्य चिडियाखानाहरूसँग पशुपंछी आदान–प्रदान कार्यक्रम चलाएर वनमान्छे, अष्ट्रिच चरा, जलगैंडा र अन्य विभिन्न बाह्रय प्रजातिका पंछीहरू पनि राखेको छ ।

सदर चिडियाखानाले विद्यालयका लागि विशेष संरक्षण शिक्षाको कार्यक्रम तयार गरेको छ । हरेक वर्ष संरक्षण सम्बन्धी विविध शैक्षिक गतिविधिहरू सञ्चालन गर्ने गर्छ । प्रकृति र वन्यजन्तुका सम्बन्धमा चेतना र जानकारी दिएर ज्ञान बढाउनमा यो कार्यक्रम केन्द्रीत रहेको छ । यो कार्यक्रम विशेष गरी विद्यार्थीहरूका लागि केन्द्रीत गरिएको छ । तैपनि ईच्छुक व्यक्ति, परिवार, संघसंस्थासम्म पनि पुग्न सक्छ । 

चडियाखानाको मित भएपछि यस चिडियाखानाद्धारा सञ्चालित विभिन्न गतिविधिहरूमा विद्यार्थीहरू सहभागी हुन पाउँछन् । निवन्ध, कविता, चित्रलेखन, हाजिरीजवाफ, चिडियाखानामा रात्री भ्रमण, राष्ट्रिय निकुञ्जमा शैक्षिक भ्रमण, दानाआहारा खुवाउने, अन्तर्राष्ट्रिय भ्रमण आदान–प्रदान, पंछी अध्ययन फोहर मैला व्यवस्थापन जस्ता विविध विषयमा तालिम तथा कार्यशाला चिडियाखानाबाट सञ्चालन हुने कार्यक्रमहरू हुन् ।

वि.सं. १९८९ (सन् १९३२) सालमा तत्कालिन प्रधानमन्त्री जुद्धशमसेर जबराबाट नीजि चिडियाखानाको रूपमा विस्तार भएको थियो । 

सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ । चिडियाखानालाई २०१० सालदेखि सर्वसाधारणका निमित्त खुल्ला गरिएको हो । 

वि.सं. २०५२ साल पुष १४ गते (सन् १९९५ डिसेम्बर २९) का दिन तत्कालिन श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहको स्वर्ण जन्म दिनको अवसरमा चिडियाखानाको व्यवस्थापनको जिम्मा नेपाल सरकारले ३० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई प्रदान गरेको हो । चिडियाखाना विकास र व्यवस्थापनका निम्ति विश्वका विभिन्न चिडियाखाना एंव संघ संस्थासँग सम्वन्ध स्थापना गरी काम गरिरहेको छ ।

यस सदर चिडियाखानामा वर्षमा करिब दश लाख दर्शकहरू अवलोकनको लागि आउँछन् । यो चिडियाखाना पशुपंछी तथा वन्यजन्तु अवलोकन र मनोरञ्जन लिने ठाँउ मात्र नभई ऐतिहासिक र सांस्कृतिक महत्वको स्थल पनि हो ।