कर्णाली एक सन्धियुक्त व्युत्पन्न शब्द हो । ‘कर्ण’ र ‘आली’ शब्द मिलेर कर्णाली बनेको हो । ‘कर्ण’ भनेको कान वा अविवाहित अवस्थामा कुन्तीबाट जन्मेका महाभारतका एक प्रसिद्ध पात्र भन्ने बुझिन्छ । त्यस्तै ‘आली’ भनेको प्रवाह, खेतगरा छुट्याउनका लागि प्रयोग गरिने साँधलाई जनाउँछ । ‘आल’ शब्दमा ‘ई’ प्रत्यय लागेर पनि ‘आली’ भएको हो । यसको अर्थ भूमि भन्ने बुझिन्छ ।
शाब्दिक अर्थको हिसाबले यसलाई महाभारतका प्रसिद्ध पात्र कर्णले मोक्ष प्राप्तिका लागि यस क्षेत्रमा कर्मकाण्ड गरी आफ्नो जीवनको केही समय बिताएकाले यसको नाम ‘कर्णाली’ रहन गएको जनविश्वास रहेको छ । त्यसै गरी संस्कृत भाषामा ‘कर्ण’ कान र ‘आली’ प्रवाह वा नदी भनेर पनि बुझिन्छ । विशेष गरी संस्कृत साहित्य र वेदहरूमा ‘आली’ शब्दले बग्ने जलधारा वा नदीलाई जनाउन प्रयोग भएको पाइन्छ । त्यस कारण कान जस्तै सुन्न सकिने आफ्नै प्रवाहमा बग्ने नदी भएकाले यसलाई ‘कर्णाली’ नामाकरण गरिएको हुन सक्ने अर्को भनाइ रहेको छ । यो नेपालका आदिवासी, पौराणिक कथा र प्राकृतिक सम्पदाको एक सङ्गम हो । यसरी ‘कर्णाली’ शब्द आफैँमा सांस्कृतिक, धार्मिक एवं पौराणिक हिसाबले अत्यन्तै ओझपूर्ण रहेको छ । यही प्रसिद्ध कर्णाली नदीको नामबाट तात्कालीन पञ्चायती शासनकाल २०२९ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्दा हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोट गरी पाँच वटा जिल्लालाई मिलाएर कर्णाली अञ्चल भनेर नामकरण गरिएको थियो । नेपालको नयाँ संविधान–२०७२ अनुसार मुलुकलाई सात वटा प्रदेशमा पुनर्संरचना गर्दा साबिक कर्णाली अञ्चलसहित यस आसपासका अन्य पाँच वटा जिल्लालाई मिलाएर ६ नम्बर प्रदेश बनाइयो । पछि प्रदेश सभाले २०७५ असोज २१ गतेका दिन प्रदेशको नाम ‘कर्णाली’ र प्रदेश राजधानी सुर्खेत राख्ने निर्णय गरेको थियो ।
हिउँ फुल्ने हिमाल
कर्णाली प्रदेशमा हुम्ला, मुगु, डोल्पा, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुमपश्चिम गरी १० जिल्ला छन् । कर्णाली प्रदेशले नेपालको झन्डै १८.७५% भूभाग ओगटेको छ । जसको कुल क्षेत्रफल झन्डै २४ हजार चार सय वर्ग किलोमिटर हुन आउँछ ।
कर्णाली प्रदेशलाई भौगोलिक रूपमा तीन भागमा विभाजन गर्न सकिन्छ । हुम्ला, मुगु र डोल्पा जिल्ला उच्च हिमाली क्षेत्रमा पर्छन्, त्यहाँका अधिकांश हिमालमा बाह्रै महिना हिउँ फुलिरहेको हुन्छ । कालीकोट, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, दैलेख पहाडी क्षेत्रमा पर्छन् । यी जिल्ला मानव बस्ती, कृषि र वनजङ्गलका हिसाबले महŒवपूर्ण रहेका छन् भने सुर्खेतको केही भाग कर्णाली प्रदेशको तराई/उपत्यका क्षेत्र मानिन्छ । त्यस्तै जुम्लाको सिँजा उपत्यकालाई पनि तराईका रूपमा लिन सकिन्छ । जहाँ धान उत्पादन र सहरीकरणको हिसाबले अत्यन्तै महìवपूर्ण मानिन्छ ।
प्राकृतिक धार्मिक/पर्यटकीय सम्पदा
कर्णाली प्राकृतिक, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै सम्भावना बोकेको प्रदेश हो । नेपालकै ठुलो ताल रारा, सबैभन्दा ठुलो जिल्ला डोल्पा, सबैभन्दा अग्लो झरना पचाल झरना र सबैभन्दा लामो नदी कर्णाली यसै प्रदेशमा पर्दछन् । रारा राष्ट्रिय निकुञ्ज र से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जस्ता संरक्षित क्षेत्र रहेको यो प्रदेश पर्यटकीय दृष्टिले पनि महŒवपूर्ण मानिन्छ ।
हुम्लाको लिमी भ्याली, अपर डोल्पा ट्रेक, कर्णाली जलविहार, सैपाल, कान्जीरोवा, बाल्सी, छिवा हिमाललगायत थुप्रै हिमशृङ्खला पर्यटकका लागि प्रमुख गन्तव्य हुन् । यहाँको जैविक विविधता, हिमाली शृङ्खला, गहिरा खोँच तथा प्रचुर जलस्रोतका कारण यस क्षेत्रको महŒव अझ बढेको छ । जुम्लाको चन्दननाथ, सिँजा उपत्यका, दैलेखको पञ्चकोशी, डोल्पाको त्रिपुरासुन्दरी, सुर्खेतको काँव्रmेबिहार, कौशिल्यानाथ मन्दिर, कालीकोटको पचाल झरना क्षेत्र, हुम्लाको हल्जी गुम्बा, सल्यान कुपिण्डे ताल, जाजरकोट दरबारदेखि लिएर हिमाली क्षेत्रमा रहेका विभिन्न कलात्मक गुम्बा सांस्कृतिक एवं धार्मिक पर्यटनका प्रमुख आधार हुन् । साहसिक पर्यटनको दृष्टिले पनि कर्णाली अत्यन्तै सम्भावनायुक्त प्रदेश हो ।
सामाजिक/सांस्कृतिक विविधता
कर्णाली प्रदेश बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं सामाजिक विविधता भएको क्षेत्र हो । यहाँ क्षेत्री, ब्राह्मण, ठकुरी, मगर, लामा, तामाङ, दलित, थारूलगायत जातजातिको बसोबास रहेको छ । उनीहरूका आआफ्नै खालका बोलीचाली, वेशभूषा, पर्व, उत्सव तथा सांस्कृतिक परम्परा रहेका छन् । यहाँ खस, थारू, गुरुङ, तामाङ, भोटे शेर्पालगायतका स्थानीय उपभाषा प्रयोगमा छन् । हिन्दु, बौद्धलगायतका धार्मिक परम्परा रहेका छन् । यहाँ दसँै, तिहार, छठ, माघेसङ्व्रmान्ति, लोसारलगायतका पर्व मनाइन्छन् । यहाँका समुदायमा हस्तकला, काष्ठकला, कपडा बुन्ने कला, माटोका भाँडा र मूर्तिकला लोकप्रिय छन् । बौद्ध गुम्बामा भित्तेचित्रका साथै धार्मिक मूर्ति ऐतिहासिक र धार्मिक दृष्टिले महìवपूर्ण छन् । यहाँका महिलाले ठाउँ अनुसार विभिन्न खालका गरगहना लगाउँछन् । अधिकांश पुरुषले टोपी लगाउने गर्दछन् । जातीय पहिचान अनुसार फरक फरक शैलीका पोसाक रहेका छन् । जातीय समुदाय अनुसार विभिन्न पर्व, नाच, गीत, वेशभूषा र परम्परा रहेका छन् । दसैँ, तिहार, माघी, भुओ, भैलो, लोसार, चैतेदसैँ, गौरा यहाँका मुख्य सांस्कृतिक पर्व हुन् । यस प्रदेशका अधिकांश मानिसले देउडा गाउने गर्दछन् । त्यसका साथै झ्याउरे, सेलो, मारुनी र सिँगारु नाच पनि यहाँका मौलिक सांस्कृतिक सम्पदा हुन् ।
प्राकृतिक फार्मेसी, फलफूलको भण्डार
कर्णाली नेपालको सबैभन्दा ठुलो र जैविक विविधता भएको प्रदेश हो । यहाँ थुप्रै प्रकारका जडीबुटी र फलफूल पाइन्छन् । संसारकै महँगोमा बिव्रmी हुने जडीबुटीमध्येको एक यार्सागुम्बा यहीँ प्रदेशको हुम्ला, मुगु् र डोल्पा जिल्लामा पाइन्छ । यसका अतिरिक्त जटामसी, चिराइतो, सतुवा, बोजो, तितेपाती, पाँचऔँले, गुर्जो आदि जडीबुटी पनि यही प्रदेशमा नै पाइन्छन् । यहाँका चट्टानमा सिलाजित पाइन्छ । कर्णाली सौन्दर्यको खानी हो ।
कर्णालीका जडीबुटी परम्परागत र वैकल्पिक एवं आयुर्वेदिक उपचारमा प्रयोग गरिन्छ । यी जडीबुटी प्रायः दुई हजार मिटरभन्दा माथिको उचाइमा पाइन्छन् । यहाँका हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट आदि हिमाली जिल्ला प्रमुख जडीबुटी क्षेत्र हुन् । त्यसैले कर्णालीलाई प्राकृतिक फार्मेसी भन्ने गरिन्छ । साबिक कर्णाली नेपालकै स्याउ उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँको स्याउ स्वादिलो मात्र होइन, स्वास्थ्यवर्धक पनि छ । यसका साथै ओखर, चुली, खामु, नासपाती, आरू, खुर्पानी, सुन्तला, किबी, अमिला आदि फलफूल प्रशस्त मात्रामा पाइन्छन् । जहाँ स्याउ फल्छ, त्यहाँ ओखर, चुली, खामु पनि फल्ने गर्छ । दैलेख, सल्यान, जाजरकोट जिल्ला सुन्तलाका लागि उपयुक्त छन् । मध्यपहाडी भूभाग सुन्तला, किबी र अमिला उत्पादनको पकेट क्षेत्र मानिन्छ । सुर्खेतमा आँप उत्पादन हुने गर्छ । स्थानीय जडीबुटी र फलफूल प्रशोधन गर्ने उद्योग सञ्चालन गर्न सकेको खण्डमा रोजगारीमा वृद्धि गर्नुका साथै देशको अर्थतन्त्रमा टेवा पु¥याउन सकिन्छ । अब यहाँको सरकारले यस क्षेत्रलाई जडीबुटी र फलफूल पकेट क्षेत्र निर्धारण गरी त्यही अनुसारका कार्यव्रmम सञ्चालन गर्न जोड दिनु पर्छ । स्याउ र फलफूलबाट जामजेली, जुस, चिप्स बनाएर विदेशसम्म निर्यात गर्न सकिन्छ । हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय जडीबुुटीजन्य शैक्षिक प्रतिष्ठान एवं विश्वविद्यालय निर्माण गरी जडीबुटीको ज्ञान प्रचारप्रसार गर्न सकिन्छ ।
नेपाली भाषा साहित्यको उद्गमस्थल
कर्णाली भाषा विज्ञानको दृष्टिले पनि अत्यन्त महìवपूर्ण स्थान हो । नेपाली भाषाको प्रारम्भिक रूप खस भाषा जुम्लाको सिन्जा उपत्यकाबाट फैलिएको हो । यही खस भाषाले नै आधुनिक नेपाली भाषाको आधार तयार पारेको हो । त्यसैले यसलाई नेपाली भाषा संस्कृतिको उद्गमस्थलको रूपमा चिनिन्छ । कर्णालीका अधिकांश ठाउँमा अहिले पनि खस भाषा बोलिन्छ । संस्कृत र तिब्बती–भुटानी भाषासँगको मिश्रणबाट विकास भएको मानिन्छ खस भाषा । खस भाषाको विकास १२ औँ शताब्दीबाट सुरु भएको मानिन्छ । तात्कालीन खस राज्यमा खस भाषा बोलिन्थ्यो । यस भाषाले विभिन्न विकासका चरण पार गर्दै आधुनिक नेपाली भाषामा रूपान्तरण भएको हो । अहिले पनि कतिपय खस भाषाका शब्द अन्य भाषीले बुझ्न गारो पर्दछ । कर्णालीको सामाज, संस्कृति र संस्कारले नेपाली भाषासाहित्यको विकासमा महŒवपूर्ण योगदान पु¥याएको छ । साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुुगुुलगायत यस आसपासका क्षेत्र प्राचीन खस साम्राज्यका महŒवपूर्ण किल्ला हुन् । यहाँको खस समुदाय नेपालको मध्य र पूर्वी भाग तथा भारतको दार्जिलिङ, आसामलगायतका विभिन्न स्थानमा बसाइँ सर्ने व्रmममा खस भाषा फैलिएको मानिन्छ ।
जलस्रोतको अपार क्षेत्र
जलस्रोतको दृष्टिले कर्णाली प्रदेश अत्यन्तै धनी छ । नेपालको सबैभन्दा लामो नदी कर्णालीदेखि लिएर भेरी, तिला, हुम्ला कर्णाली, मुगु कर्णाली, बबई जस्ता सहायक नदी यही प्रदेशमा रहेका छन् । हुम्लामा हुम्ला कर्णाली, हेप्का खोला, सर्केगाड खोला, गल्फागाड, कुवाडी खोला, मुगुमा मुगु कर्णाली, डोल्फु कर्णाली, गमखोला, खत्याड खोला, डोल्पामा ठुली भेरी, सानी भेरी, से फोक्सुन्डो खोला आदि, जुम्लामा तिला, हिमा, जावा नदी आदि, कालीकोटमा फुगाड, सान्नीगाड, थिर्पुगाड, भर्तागाड, बालीगाड आदि सहायक नदी र खोला रहेका छन् । त्यसै गरी दैलेखमा रामघाटखोला, छामघाड खोला, पराजुली खोला, कट्टी खोला, रति खोला, साना खोला आदि, जाजरकोटमा खारखारा खोला, उद्यारी खोला, जुवानी खोला, खाप्ने खोला, उत्तरगङ्गा खोला आदि, सुर्खेतमा भेरी, बबई, खुर्खोरे खोला, सेरा खोला, दङ्गीशरण खोला, चौर खोला, बनियानी खोला, इत्रम खोला आदि, सल्यानमा भेरी, शारदा, लुहम खोला, वनगाड, मासखोला, दार्मा खोला, मोक्ला खोला, कोरवाङ खोला रहेका छन् ।
खस जातिको मुख्य धर्म हिन्दु हो । उनीहरू हिन्दु संस्कार अनुसार नै आफ्ना सामाजिक चालचलन र मूल्यमान्यता अवलम्बन गर्ने गर्दछन् । धर्मको हिसाबले हिन्दु भए पनि उनीहरूले बौद्धलगायत अन्य धर्मालम्बीसँग नजिकको सम्बन्ध राख्दै आएका छन् । कर्णालीका हिमाली क्षेत्रमा बौद्ध धर्मावलम्बीको बसोबास रहेको छ । त्यहाँ हिन्दु र बौद्धको बिचमा सामाजिक सद्भाव, मेलमिलाप र धार्मिक सहिष्णुता रहेको छ ।
कर्णालीका सबै समुदायमा खस संस्कृति झल्किने गरेको छ । यस क्षेत्रमा जन्म, व्रतबन्ध र विवाहमा चाँड्ची (फाक) भन्ने चलन छ । रातभरि घरको छतमा आगो बालेर त्यसको वरिपरि घुम्दै देवीदेवताका पौराणिक एवं धार्मिक कथा गीतको शैलीमा गाउने गरिन्छ । राति महिलाले कुचो वा कुनै वस्तुलाई महिलाको गरगहना लगाइदिएर बालो बनाई हातमा नचाउने चलन छ । त्यस्तै डोकोलाई केटीको कपडा र गरगहना लगाइदिएर चम्फा बनाउने चलन छ ।
पुरुषले चाल्नोमा गिलो पिठोको नाकमुख बनाएर मुखौटो लगाउने र नाच्ने प्रचलन छ । केटालाई बाक्टे र केटीलाई बक्ट्यानी भनेर सम्बोधन गरिन्छ । उनीहरूलाई बाजा वा गीतमा नचाउने गरिन्छ । दिउँसो हरिनो नाच्ने गर्दछन् । एक जोडी डोकोलाई लठ्ठीले वरपर अड्याउने र त्यसलाई कपडाले छोपी घोडा बनाउने गरिन्छ । त्यसमा बस्ने मुखौटो लगाएको मान्छेले हातमा खुकुरी र मफलर समातेर बाजाको तालमा नाच्ने गर्छन् । त्यस्तै ढालतरबारको खेल पनि खेलिन्छ । कर्णालीमा विभिन्न जात जातिका आआफ्नै खालका लोकसंस्कृति र परम्परा छन् । कर्णालीको मुख्य सांस्कृतिक परम्परा भनेको देउडा नाच हो । यसमा केटा र केटी वा कुनै दुई पक्षबिचमा गीतका माध्यमबाट सवालजवाफ गरिन्छ । देउडाले मानव समुदायलाई एकता गर्न र कुनै पनि नयाँ कामका लागि आत्मबल वृद्धि गर्ने काम गर्दछ । कर्णालीका सबै समुदायमा यो परम्परा रहेको छ । यसले सामाजिक एकता र मेलमिलापमा जोड दिन्छ । देउडा गीतमा माया, प्रेम, सद्भाव, विभिन्न सामाजिक सन्देशलगायत जीवनका विभिन्न पाटापक्ष उजागर भएका हुन्छन् । हालको कर्णाली प्रदेशको जाजरकोट, सल्यान, रुकुमतिर भने देउडाका साथै सिँगारु र टप्पा नाच्ने प्रचलन रहेको छ । यस्ता नाचले सामाजिक एकता र समृद्धि कायम गर्ने कार्यमा सहयोग पु¥याइरहेका छन् । समाज रूपान्तरणदेखि लिएर राज्यसत्ता परिवर्तन गर्ने जुनसुकै आन्दोलन र विद्रोहमा कर्णाली सव्रिmय देखिन्छ । कर्णालीवासी सामाजिक, आर्थिक, जातीय र वर्गीय असमानताका विरुद्धमा हुने जुनसुकै आन्दोलनमा डटेर सव्रिmयताका साथ लड्दै आएका छन् ।
अन्त्यमा, कर्णालीले नेपालको भाषा, साहित्य, संस्कृति, राजनीति, धर्म, संस्कार, सामाजिक संरचना र जलस्रोतको क्षेत्रमा महŒवपूर्ण योगदान दिएको छ । भौगोलिक विकटताले भौतिक, आर्थिक, शैक्षिक विकासमा चुनौती ल्याएको भए पनि ती चुनौतीलाई सामना गर्न सक्ने सामथ्र्य बोकेर कर्णाली आफ्नै प्रवाहमा बगिरहेको छ । कर्णाली सामाजिक संरचना र बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय एक व्रmान्तिकारी चेत भएको रक्तिम किल्ला हो ।