• १२ मंसिर २०८१, बुधबार

राष्ट्रिय गौरवका आयोजना

लागत र समय वृद्धि

blog

काठमाडौँ, असार ३१ गते ।राष्ट्रिय गौरवका परियोजनाअन्तर्गत सञ्चालित आयोजनाको लागत र समय वृद्धि भएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ढिलाइ भएको औँल्याएको हो । 

सरकारले आव २०६८/६९ मा समृद्ध सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षणलगायतका क्षेत्रमा महŒवपूर्ण देखिएका १७ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्न राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो ।

हालसम्म राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत विभिन्न २४ वटा आयोजना रहेका छन् । आव २०७७÷७८ सम्म उक्त आयोजनाले प्रगति विवरण न्यून रहेको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । १० वर्षदेखि प्राथमिकताका साथ कार्य हुँदै आएकामा माथिल्लो तामाकोसी आयोजनाबाहेक अन्य आयोजना सम्पन्न हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माण कार्य सुरु गर्नु, खरिद कार्य गर्नुपूर्वका कार्य जग्गा प्राप्ति र क्षतिपूर्ति, वातावरणीय प्रभाव मूल्याङ्कन प्र्रतिवेदन स्वीकृति, सीमाङ्कन, रेखाङ्कनलगायतका कार्य सम्पन्न नगरी निर्माणको खरिद गर्नु, अन्तरनिकाय समन्वय अभाव, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्याङ्कनलगायतका समस्याले गर्दा आयोजना निर्माणको समय र लागत दुवै बढी भएको उल्लेख गरिएको छ ।

लागत र समय दुवै थपिएका आयोजना

महालेखाको प्रतिवेदनअनुसार २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये १० आयोजनाको लागत र समय दुवै थपिएका छन् । आव २०६६/६७ सालमा निर्माण सुरु गरिएको रेलवे तथा मेट्रो विकास आयोजनाले भौतिक प्रगति शून्य रहेको छ । चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म २४ अर्ब ४७ करोड रुपियाँ खर्च भए पनि भौतिक प्रगति शून्य देखिएको प्रतिवेदनमा उल्लेख छ । उक्त आयोजना निर्माणका लागि सरकारले पाँच खर्ब ५५ अर्ब २२ करोड रुपियाँ खर्च हुने अनुमान गरेको छ । 

आव २०६५/६६ मा निर्माण सुरु भएको उत्तर दक्षिण (कर्णाली कोरिडोर)को भौतिक प्रगति २८ प्रतिशत मात्र रहेको छ । आव २०७९/८० मा निर्माण सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा हालसम्म ११ अर्ब ३० करोड रुपियाँभन्दा बढी खर्च भइसकेको छ ।  

यस्तै आव २०६५/६६ मा निर्माण सुरु भएको उत्तर दक्षिण (कोसी कोरिडोर) लोकमार्गको भौतिक प्रगति २४ प्रतिशत रहेको छ । २०८०/८१ मा सक्नुपर्ने उक्त आयोजनाका लागि हालसम्म ३० अर्ब ५८ करोड रुपियाँ खर्च भइसकेको छ । 

प्रतिवेदनअनुसार महाकाली सिँचाइ आयोजना, उत्तर दक्षिण कालीगण्डकी आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, सुनकोसी–मरिन डाइभर्सन आयोजना, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, काठमाडौँ तराई–मधेश द्रुतमार्गलगायतका आयोजनाको प्रगति न्यून 

रहेको छ ।पुष्पलाल (मध्यपहाड) राजमार्ग आयोजनाको हालसम्म ५७.८४ प्रतिशत भौतिक प्रगति भएको छ । आव २०६४/६५ सालदेखि निर्माण सुरु गरिएको उक्त आयोजना २०७९÷८० मा सक्ने लक्ष्य राखिएको छ । ८४ अर्ब ३३ करोड रुपियाँ लागत अनुमान गरिएको यो आयोजनामा हालसम्म ५३ अर्ब ३४ करोड रुपियाँ खर्च भइसकेको छ ।