टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), माघ १२ गते । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिताका विषयमा दलहरुलाई सचेत बनाएको छ । दलहरु चुनावी अभियानमा गाउँ पसिसकेका छन् भने निर्वाचन आयोगले पनि आफ्ना नियमित तयारीका काम गरिरहेको छ ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले निर्वाचन आचारसंहिता २०८२ मा भएका प्रावधानहरुको बारेमा दलका प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराउनु भएको थियो । घिमिरेले निर्वाचनको क्रममा उम्मेदवार, राजनीतिक दल, समर्थक तथा सरोकारवालाहरुले गर्न पाउन र नपाउने विषयमा स्पष्ट पार्दै कानुनी प्रावधानको बारेमा अवगत गराउनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबैको तर्फबाट आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकलाई भयरहित वातावरणमा मत राख्ने अवस्थाको सृजना गर्न आफुहरु सुरक्षाको तर्फबाट योजनावद्ध रुपमा लागेकाले दलहरु पनि शान्तिपूर्ण रुपमा जनताका बिचमा जान गैह्रेले आग्रह गर्नुभयो । मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले निर्वाचनलाई सफल बनाउन सबै उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहिताको पूर्ण पालना गरेर नागरिकको विश्वास अझ सुदृढ बनाउन आग्रह गर्नुभयो । उहाँले विभिन्न माध्यमबाट आचारसंहिता पालना भए÷नभएको बिषयमा अनुगमन हुने बताउनुभयो ।
सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्थाहरुको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । साथै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय तथा प्रशासनलाई आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरिएको छ ।
जिल्लाका दुई प्रतिनिधि सभामा ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान केन्द्र र २८४ वटा मतदान स्थल तोकिएको छ ।