बुटवल समाचारदाता
बुटवल, माघ १२ गते । २०६४ सालदेखि रुपन्देहीमा लगातार निर्वाचन जित्दै आउनुभएका नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल यस पटक नयाँ अनुहारसँग प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस पटक युवा, पेसागत रूपमा स्थापित र सामाजिक पहिचान बनाएका उम्मेदवारले उहाँलाई चुनावी मैदानमा भिडन्त गर्ने भएका छन् । रुपन्देहीको क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा त्यस कारणले पनि बढी रोचक बनेको छ । यहाँ एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच चौपक्षीय भिडन्त हुने देखिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुरुवातमा पाल्पा क्षेत्र नम्बर २ जाने तयारीमा रहनुभएका पूर्वअर्थमन्त्री पौडेल अन्ततः रुपन्देहीमै फर्किएर उम्मेदवारी दर्ता गराउनुभयो । पाल्पा जाने तयारीबिच रुपन्देही पार्टी
पङ्क्तिमा असन्तुष्टि बढेपछि पुरानै निर्वाचन क्षेत्रमा पौडेल फर्किएको एमाले कार्यकर्ताको बुझाइ छ । पौडेल २०५६ सालमा तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नुभएको थियो । त्यसबेला उहाँ नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित हुनुभयो तर २०६४ सालयता भएका सबै निर्वाचनमा उहाँले निरन्तर विजय हासिल गर्दै आउनुभएको छ ।
२०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग भएको कडा प्रतिस्पर्धाले भने एमालेभित्र नै पौडेलको जितप्रति संशय बढाएको थियो । त्यस निर्वाचनमा विष्णु पौडेलले २७ हजार १४७ मत पाउँदा गणेश पौडेलले २५ हजार ७८१ मत ल्याउनुभएको थियो । छैटौँ पटक उम्मेदवार बन्नुभएका पौडेलले आफ्नो अनुभव र विकासको निरन्तरतामाथि जोड दिइरहनुभएको छ । नेपाली कांग्रेसले बुटवलका उद्योगी चुन्नु पौडेललाई उम्मेदवार बनाएको छ । कांग्रेस वृत्तमा चुन्नुलाई ‘बजार र व्यावसायिक समुदायको मत तान्न सक्ने उम्मेदवार’ का रूपमा हेरिएको छ । उहाँ पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको हो ।
यस पटक कांग्रेस र एमालेलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवक्ता सुलभ खरेललाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले ३९ वर्षीय युवा नेता विश्वदीप पाण्डेयलाई उम्मेदवार बनाएको छ । युद्धकालदेखि पार्टीमा सक्रिय पाण्डेय हाल पार्टीको केन्द्रीय सदस्य तथा प्रचार र सामाजिक सञ्जाल विभागको जिम्मेवारीमा हुनुहुन्छ ।
सैनामैना निवासी पाण्डेय दिवङ्गत तत्कालीन माओवादी नेता भक्ति पाण्डेका छोरा हुनुहुन्छ । भक्ति पाण्डे २०६४ सालको निर्वाचनमा विष्णु पौडेलसँग थोरै मतले पराजित हुनुभएको थियो । आफ्ना पितासँग चुनाव लडेको विष्णु पौडेलसँग पाण्डेयले यस पटक चुनावी मैदानमा टक्कर दिन थाल्नुभएको छ ।
यस क्षेत्रका अर्का प्रतिस्पर्धी डा. कलम भुसाल (निकोलस) हुनुहुन्छ । चिकित्साशास्त्र अध्ययन गरेका निकोलस पछिल्ला वर्षमा सामाजिक अभियन्ताका रूपमा चिनिनुभएको छ । नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बन्नुभएका उहाँले विगतमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएको थियो ।
रुपन्देही–२ अन्तर्गत बुटवल उपमहानगरपालिका–१ देखि १३, तिलोत्तमा नगरपालिकाका–१ देखि ६ तथा सैनामैना नगरपालिका–१ देखि ४ पर्दछन् । यहाँ कुल एक लाख ३५ हजार ५० मतदाता छन् । अनुभवी नेता विष्णु पौडेल, उद्योगी चुन्नु पौडेल, युवा अधिवक्ता सुलभ खरेल, माओवादीका युवा विश्वदीप पाण्डेय र सामाजिक अभियन्ता डा. निकोलसबिचको हुने यहाँको प्रतिस्पर्धाले रुपन्देही–२ को चुनावलाई लुम्बिनी प्रदेशकै सबैभन्दा चासोको केन्द्र बनाएको छ ।