काठमाडौँ, असार ३१ गते । वैदेशिक रोजगार बोर्डको आव २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ७४औँ नियमित बैठकले उक्त नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । आव २०७९/८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी एक अर्ब ५८ करोड १६ लाख रुपियाँको बजेट तथा कार्यक्रम स्वीकृत भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार बोर्डबाट गरिने अनलाइन प्रणालीबाट प्रवाह गरिने आर्थिक सहायता वितरण, अलपत्र श्रमिकको उद्धार तथा राहत, निःशुल्क सीप तालिम, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगारसम्वन्धी अभिमुखीकरण, सरोकारवालासँगको सहकार्य र संस्थागत क्षमता अभिवृद्धिलगायतका नौवटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो ।
बैठकमा श्रममन्त्री कुँवरले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन र बोर्डबाट प्रवाह हुने सेवालाई सरल, सहज र प्रविधिमैत्री बनाई सुशासन प्रवद्र्धन गर्न पहल गर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका श्रमिकका गुुनासा सम्बोधन गर्नेगरी काम गर्न बोर्डका कर्मचारीलाई निर्देशनसमेत दिनुुभयो । वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्थाबमोजिम यस बोर्डको गठन भएको हो । बोर्डको नियमित कार्य सञ्चालन वैदेशिक रोजगार बोर्डको सचिवालयले गर्दै आइरहेको छ ।