• १० माघ २०८२, शनिबार

मौसमसँगै फेरिने शैलुङ

blog

शैलुङको यात्रा रोचक र अविस्मरणीय यस कारण पनि हुन्छ कि मौसम अनुसारको वातावरण यहाँ पाइन्छ । हिउँदमा हिउँ अनि हिमालको अनुभव र दृश्यावलोकन गर्ने अवसर शैलुङ यात्रामा प्राप्त हुन्छ । बर्खाको समयमा हरियाली, भुइँकुहिरोको लुकामारी, चौँरीसँगको सामीप्य, चौरमा विभिन्न प्रजातिका फूल तथा अन्य वनस्पतिले शोभायमान बनाएको हुन्छ । गुराँस, चिमाल र चाँप फुल्ने समयमा हरियाली थुम्कामा दौडिएर पुग्ने उत्कट इच्छाले यात्रुहरू रोमाञ्चित हुनु स्वाभाविकै हो । नेपालमा पाइने ३४ प्रजातिका गुराँसमध्ये शैलुङ क्षेत्रमा मात्रै १८ प्रजातिका गुराँस पाइन्छन् । प्राकृतिक सुरम्य र सुन्दरताका कारण यात्रुले उकालीओराली हिँड्दाको थकाइ नै महसुस गर्दैनन् । 

शैलुङ दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्छ । दोलखाको शैलुङ र मेलुङ गाउँपालिका तथा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाभित्र पर्ने यस धार्मिक एवं पर्यटकीय स्थल रमणीय छ । शैलुङ लेकको नामकरणको विभिन्न किंवदन्ती पाइन्छ । शैलुङ लेकमा सय वटा थुम्का रहेकाले यसको नाम ‘सयलुङ’ वा शैलुङ भएको भन्ने जनश्रुति धेरै प्रचलनमा रहेको छ । नामकरणका सम्बन्धमा बोन धर्म संस्कृति, भाषा, बौद्ध र हिन्दु धर्मावलम्बीको विश्वास, प्राकृतिक सुन्दरता, जैविक विविधता आदि कोणबाट व्याख्या र विश्लेषण भइराखेका छन् । नामकरण र यहाँको पवित्रताले गर्दा शैव, बौद्ध, बोन धर्मको साझा आस्थाको केन्द्र शैलुङलाई महत्व दिँदै आएको हो । शैलुङमा सातौँ शताब्दीमै गुरु पद्मसम्भवले पाइला राखेको बौद्ध धर्मावलम्बीको विश्वास छ । 

शैलुङको उत्तरतिर शैलुङ्गेश्वर महादेव गुफा रहेको छ । यस महादेवस्थानमा जनैपूर्णिमा र बालाचतुर्दशीका दिन भव्य मेला लाग्ने गरेको छ । मेलामा झाँक्रीहरू ढ्याङ्ग्रोसहित पूजाआजा र दर्शन गर्न आउँछन् । यहाँका प्रमुख दुइटा गुफामध्ये एउटामा रहेको पापी र धर्मात्मा खुट्याउने भनिएको धर्मद्वार निकै चर्चामा रहेको छ । शैलुङमा अनेक आकृतिका चट्टान छन् । डाँडामा रहेको एउटा बाघ र अर्को गाई आकृतिको चट्टान छ, जसलाई बाघढुङ्गा र गाईढुङ्गा नामकरण गरिएको छ । बाघढुङ्गानजिकै एउटा ढुङ्गा छ । जसलाई पृथ्वीको नाइटो भन्ने गरिन्छ । यसको नजिकै एउटा पाइलाको आकृति पनि छ । जसलाई हिन्दु धर्मावलम्बीले महादेवको, बौद्ध धर्मावलम्बीले गुरु रिम्पोछे र बोन झाँक्रीका पूजकले गुरु सेरबले टेकेको पाइलाका रूपमा विश्वास गरिन्छ । शैलुङभन्दा करिब सात सय मिटर अग्लो पवित्र तीर्थस्थल कालिञ्चोकबाट वेगले उडेर आएको डाँफे बसेको भनेर विश्वास गरिने ढुङ्गालाई डाँफे ढुङ्गा भनिने गरिएको छ । शैलुङमा ठुली एकादशी, जनैपूर्णिमा, बुद्धजयन्ती, धान्यपूर्णिमामा विशेष किसिमको जात्रा मेला लाग्ने गरेको छ । विभिन्न सम्प्रदायका धामीझाँक्रीका लागि साधना केन्द्रका रूपमा पनि शैलुङलाई लिइन्छ । शैलुङको सभ्यता संस्कृति, परम्परा, विश्वास, विविधता, सौन्दर्य र त्यसका आधारमा दिगो पर्यटकीय विकासमा सरकार र सरोकार पक्षको ध्यान जानु आवश्यक छ ।

मौसम अनुसारको सदाबहार सुन्दरता शैलुङको विशेष विशेषता हो । यहाँ वसन्त ऋतुमा गुराँस, चिमाल र चाँप फुल्ने मुख्य समय हो । त्यस्तै शरद ऋतुमा वरिपरि देखिने चाँदी जस्तै टल्किने हिमशृङ्खला, साथै हिउँदको अधिकांश समयमा शैलुङका थुम्कामा हिउँले ढाकिँदा देखिने मनोरम दृश्यमा पर्यटक रमाउने अवसर प्राप्त हुन्छ । शैलुङवरिपरि तथा बाटोमा विभिन्न प्रजातिका हरिया बोटबिरुवाले मनमा उमङ्ग छाउने गर्छ । शैलुङको थुम्कासम्मको यात्राका क्रममा प्राकृतिक सुन्दरताको विविधता देख्न पाइन्छ । 

यहाँ जाडो मौसमको अधिकांश समय हिउँले ढाकेको हुन्छ । शैलुङको शिखरबाट सगरमाथा, गौरीशङ्कर, अन्नपूर्ण, मनासलु, गणेश र लामटाङ हिमाल छर्लङ्ङ देखिन्छन् । दोर्जेलाक्पा, मेलुङ्त्से नम्बुरलगायतका ६० भन्दा बढी हिमशृङ्खला पनि सहजै देखिन्छ । 

शैलुङ यात्रालाई शान्ति, मनोरञ्जन र स्वास्थ्यको त्रिवेणीका रूपमा पर्यटकले महसुस गर्ने गरेका छन् । शैलुङका प्रचारप्रसारका साथसाथै त्यहाँ हुने गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमले पनि यसको महìव बढ्दै गएको छ । विगतमा साहित्यिक महोत्सव, विभिन्न सेमिनार र धार्मिक अनुष्ठान भइसकेका छन् । विसं २०७६ वैशाख १३–१४ गते खोलाखर्क शैलुङ महोत्सव, २०७८ फागुन २०–२१ शैलुङ सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो । २०८२ मङ्सिर ५ गते मधुपर्क साहित्यिक महोत्सव गरिएको थियो । सुनापति शैलुङ अल्ट्रा म्याराथन दौड समितिले तीन वर्षदेखि शैलुङ अल्ट्रा रेस सञ्चालन गर्दै आएको छ । महिला पुरुष खुला ५५ किलोमिटर र पाँच किलोमिटर दौडमा विश्वभरका धावक सहभागी हुने गरेका छन् । यो दौड आयोजनाका लागि रामेछापका खाँडादेवी, सुनापति र दोरम्बा सैलुङ गाउँपालिकाको सहयोग र सहकार्य हुँदै आएको छ । त्यहाँ निर्माण गरिएका र निर्माणाधीन संरचनाले पर्यटनलाई थप आकर्षित गरेको छ । तथापि प्राकृतिक सुन्दरतालाई सिमेन्टका भौतिक संरचनाले खल्लो बनाइदिने अनुभूति पर्यटकले गर्दै आएका छन् । मिनी ग्रेटवाल, आध्यात्मिक केन्द्र, विज्ञान पार्क, साहित्यघर तथा फर्पुमा सञ्चालित भियतनामी बुद्धिस्टको ध्यानकेन्द्रका ८० कुटीलाई धार्मिक पर्यटनको आकर्षणका रूपमा विकास गरिने लक्ष्य बनाइएको छ । शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेसँगै सुविधासम्पन्न होटेलको विकास र विस्तार हुँदै गएको छ ।

समुद्री सतहबाट तीन हजार १४६ मिटर उचाइमा रहेको शैलुङ दोलखा तथा रामेछाप जिल्लाबाट पुग्न सकिन्छ । काठमाडौँबाट १२२ किलोमिटरको दुरीमा रहेको शैलुङ चल्तीको बाटो काठमाडौँ, धुलिखेल, मुडे हुँदै पुगिन्छ । सवारीसाधनबाट उत्रेपछि करिब चार किलोमिटरको पैदलपछि शैलुङको सौन्दर्यको रस स्वादन लिन सकिन्छ । हाइकिङ, राइडिङ, साइक्लिङ, घोडचढीबाट पनि शैलुङ पुग्न सकिन्छ । ट्राभल एजेन्सीले समेत शैलुङ, कालिञ्चोक, चरीकोट, भीमेश्वरसमेत समेटर वा छुट्टाछुट्टै टुर प्याकेज पनि सञ्चालन गरेका छन् । राजधानी काठमाडौँबाट सहजै पुग्न सकिने शैलुङको पर्यटकीय महìव उदीयमान छ । यसको प्रवर्धन र व्यवस्थापन गर्न स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका साथै स्थानीयवासीको अहम् भूमिकालाई सबैले आत्मसात् गर्न चुक्नु हुन्न । ‘बोल्नेको पिठो नि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भने झैँ प्रचारप्रसारमा व्यापकता र सर्वसुलभ गुणस्तरीय सेवासुविधा सुनिश्चित गर्नका लागि पर्यटन व्यवसायीको ध्यान जानु शैलुङको पर्यटन प्रवर्धनका लागि अपरिहार्य देखिन्छ ।