• १८ असार २०८१, मङ्गलबार

‘त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुँदैन’

विश्वविद्यालयको प्रश्नपत्र सार्वजनिक गर्नु अपराध हो : शिक्षामन्त्री पौडेल

blog

फाइल तस्बिर

 काठमाडौं, असार ३० गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टर परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताउनुभएको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टर परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफलमा बोल्नुहुँदै उहाँले यो गम्भीर अपराध भएकाले कारबाही गर्नुपर्ने बताउनुभएको हो। परीक्षाका लागि तयार भएका प्रश्नपत्रमा लापरबाही हुनु राम्रो नभएको भन्दै यसमा संलग्न सबैलाई तत्काल कारबाही गर्ने बताउनुभएको हो। 

त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता रहेकोसमेत उहाँको भनाइ छ। उहाँले विश्वविद्यालय उच्च शिक्षा अध्ययन गर्ने ८० प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने भएकाले पनि प्रश्न उठ्ने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘संसदमा सांसदले उठाउनुभएका प्रश्नमा हामी गम्भीर भएर छलफल गरिरहेका छौं। त्रिभुवन विश्वविद्यालय ठूलो भएकाले प्रश्न उठ्छ। अरु विषयमा पदाधिकारीसँग छलफल गर्दा हुन्छ। अहिले प्रश्नपत्रको विषय राख्नुभएको छ। को-को संलग्न छन्। कानुन अनुसार प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन। यो गर्नु गम्भीर अपराध हो। तत्काल कारबाही हुन्छ।’

‘त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको हुँदैन’

त्यस्तै, सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताउनुभयो। उहाँले अब उच्च शिक्षा बदल्नको लागि  त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नु आवश्यक भएको बताउनुभयो। पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भन्दै प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गर्नुभयो। 

उहाँले भन्नुभयो,‘‘त्रिभुवन विश्वविद्यालयका समस्या अलिअलि औषधि दिएर हल हुने अवस्थामा छैनन्।  विश्वविद्यालयलाई सुधार गर्नका लागि पुनःसंरचनाको आवश्यकता छ। यहाँ धेरै सेटिङ हुन्छन्। यो सानो सेटिङ मात्रै बाहिर आएको हो।’’

‘व्यवस्थापनको कमजोरी सुधार हुनुपर्छ’

नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले त्रिभुवन विश्व विद्यालयमा व्यवस्थापनबाट भएका कमजोरी तत्काल सुधार गर्नुपर्ने बताउनुभयो। उहाँले नेपालको सबैभन्दा ठूलो विश्व विद्यालयको विषयमा शिक्षा समितिमा पहिलो पटक त्यो पनि परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छलफल हुनु राम्रो नभएको बताउनुभयो।

त्यस्तै, समिति बैठकमा त्रिभुवन विश्व विद्यालयमा उपकुलपति डा. धर्मकान्त बास्कोटाले स्नातकोत्तर तहको पहिलो सेमेस्टर राजनीति शास्त्रको प्रश्नपत्र बाहिर आएको स्वीकार गर्नुभयो। उहाँले त्यो भन्दा अगाडि सोही तहको प्रश्नपत्र बाहिर आएको छानबिन हुँदा अर्को घटना दोहोरिएको बताउनुभयो। उपकुलपति बास्कोटाले प्रश्नपत्र बाहिर आएको विषयमा छानबिन गर्दा सत्यता रहेको पाइएको बताउनुभयो। उहाँले छानबिन समितिले प्रश्नपत्र बाहिर ल्याउन संलग्नलाई कारबाही गर्ने निर्णय गरेको जानकारीसमेत गराउनुभएको छ। 

उपकुलपति बास्कोटाले विभिन्न घटनाबाट पाठ सिकेर अब प्रश्नपत्र बनाउने कार्यमा कठोर बन्ने निर्णय भइसकेको बताउनुभयो। उहाँले अब प्रश्नपत्र बनाउन जो सहभागी हुन्छ उसलाई तीन वर्षसम्म पठनपाठन र परीक्षामा सहभागी नगराउने निर्णय भएको बताउनुभयो।