पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ ९ गते । पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेसँगै उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या सुन्ने कार्यमा केन्द्रित भएका हुन् ।
घरदैलोमा ‘हेभीवेट’ उम्मेदवार
क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी आफ्नो चुनावी अभियान लिएर बस्ती–बस्तीमा पुगिरहनुभएको छ । उहाँले विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँलाई टक्कर दिइरहनुभएका जनता समाजवादी पार्टीबाट अनुभवी नेता पूर्वमन्त्री हृदयश त्रिपाठी पनि टोलटोलमा मतदाता रिझाउन व्यस्त रहनुभएको छ । त्रिपाठीले आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डा बनाउनुभएको छ ।
त्यस्तै, रास्वपाका बिक्रम खनाल ‘घण्टी’ लिएर युवा पुस्ता र असन्तुष्ट मतदाताको घरमा पुग्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याइरहनुभएको छ । एमालेका रामप्रसाद पाण्डे पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुगिरहनुभएको छ ।
क्षेत्र नं. २ मा पनि उस्तै रौनक
क्षेत्र नम्बर २ का उम्मेदवारहरू पनि बिहानैदेखि मतदाता भेट्न निस्कने गरेका छन् । राप्रपाका ध्रुव बहादुर प्रधानले आफ्नो पुरानो साख जोगाउन घरदैलोलाई तीव्रता दिनुभएको छ । कांग्रेसका भरत थापा आन्तरिक एकताको सन्देश दिँदै कार्यकर्ता मिलाउन र मतदाता भेट्न व्यस्त हुनुहुन्छ ।
रास्वपाका नरेन्द्रकुमार गुप्ता र नेकपाका देवेन्द्र पौडेल ‘सुनील’ पनि चुनावी मैदानमा सक्रिय हुनुहुन्छ । उम्मेदवारहरू ठुला आमसभाभन्दा पनि साना समूहमा गरिने छलफल र व्यक्तिगत भेटघाटलाई बढी प्राथमिकता दिइरहेका छन् ।
मतदाताका आफ्नै गुनासा
उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरूले भने पुरानै समस्याहरू दोहोर्याइरहेका छन् । किसानहरूले समयमै मल र बीउको उपलब्धता, डुबानको समस्या, सुकुम्वासी समस्याको समाधान र युवा स्वरोजगारका विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन् ।