• १८ असार २०८१, मङ्गलबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनबारे छलफल : अर्को बैठक शनिबार बस्ने

blog

फाइल तस्बिर

काठमाडौं, असार ३० गते।सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धमा छलफल भएको छ।

केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सोमबारदेखि जारी बैठकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आजको केही केन्द्रीय सदस्य संसदमा जानुपरेको बताउनुहुँदै बैठकमा पार्टीलाई कसरी मजबुत बनाउने र कांग्रेसले सफलता हासिल गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो।“समसामयिक राजनीतिक विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा अझै केन्द्रीय सदस्यले धारणा राख्नेक्रम चलिरहेको पनि महतले जानकारी दिनुभयो । आज परराष्ट्रमन्त्री डा. नारायण खड्का लगायत केही मन्त्रीले जवाफ दिनुभएको उहाँले उल्लेख गर्नुभयो।मन्त्री खड्काले सरकारले गरेका कामका विषयमा बुँदागत रुपमा प्रस्तुत गर्नुभएको छ।

भोलि पनि उपसभामुख चयन र विधयेक लगायतका विषय रहेको र संसदमा जानुपर्ने भएकोले  एक, दुई दिनमा अन्तिम निष्कर्ष निकालेर बैठकको निर्णय हुने उहाँले बताउनुभयो ।

सरकार निर्माण र सञ्चालनका लागि गठबन्धन आवश्यक छ : निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले सरकार निर्माण र सञ्चालनका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ।केन्द्रीय कार्य समितिको बैठकबारे सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा बधाई दिनुभएको जानकारी दिनुभयो ।

“सरकारले नेतृत्व गरेको एक वर्ष पुगेकोमा मैले उहाँलाई बधाई दिए।आगामी संसद र प्रदेशको निर्वाचनका लागि अब एक वर्ष पनि समय छैन, त्यो बेलासम्म चुनाव पनि तपाईंले गराउनुहोस्, हामी सबैको समर्थन हुनेछ, मैले भनें”, निधिले भन्नुभयो। सरकार निर्माण र सरकार सञ्चालन अलग कुरा रहेको भन्नुहुँदै उहाँले भन्नुभयो, “स्थानीय निर्वाचमा कांग्रेस पहिलो पार्टी बन्यो।संसद र प्रदेश निर्वाचनमा त्यो भन्दा बलियो उद्देश्यसहित पहिलो पार्टी मात्रै होइन, कांग्रेस बहुमतीय पार्टी बनोस् ।”

स्थानीय निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि हुँदा मेयर, उपमेयर र वडाअध्यक्षमा अन्य चुनाव चिह्नबाट लडेकालाई पनि पार्टीभित्र ल्याइनुपर्ने उहाँले बताउनुभयो।

“अर्को महत्वपूर्ण कुरा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम विकसित भइरहेको छ।नेपाल र भारतको सम्बन्ध, श्रीलंकामा जुन घटा घटिरहेको छ, चीनको यो सबैलाई ध्यानमा राखेर विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धमा, अर्थतन्त्रमा पनि धेरै संकट आएको छ”, यी सबै विषयमा गठबन्धन अथवा समिकरण वा चुनावी तालमेल गर्नुपर्ने धारणा उहाँको छ ।

पार्टीको १४ औं महाधिवेशनमा स्वयम् आफू पनि सभापतिमा उम्मेदवार भएको स्मरण गराउनुहुँदै उहाँले कांग्रेसको आन्तरिक जीवनका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकताबद्ध गर्न आवश्यक रहेको बताउनुभयो।यस लगायत पार्टीको विभाग र अन्य समिति गठन गर्नुपर्ने र त्यसलाई पूर्णता दिने विषयमा कांग्रेसमा छलफल भएको उहाँको भनाइ छ।