• ८ माघ २०८२, बिहिबार

आयातनिर्यात दुवै बढ्यो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । मुलुकमा नौ खर्ब रुपियाँ बराबरको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा (साउन–पुस) आयातनिर्यात दुवै बढेको छ । 

विभागका अनुसार आयात १४.१८ प्रतिशतले बढेर नौ खर्ब ३९ अर्ब २२ करोड ८८ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड ५४ लाख रुपियाँ रहेको थियो । चालु आवको छ महिनामा निर्यात ४३.७६ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब १८ करोड रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपियाँको निर्यात भएको थियो । 

आयातनिर्यात बढ्दा व्यापारघाटासमेत १०.१५ प्रतिशतले बढेर सात खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख ९९ हजार रहेको थियो । 

समीक्षा अवधिमा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढेर १० खर्ब ८१ अर्ब ४० करोड ८९ लाख पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा नौ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार रुपियाँ रहेको थियो । आर्थिक गतिविधि बढ्न थालेपछि आयातनिर्यातमा सुधार आएको तथ्याङ्कले देखाएको छ । 

छ महिनामा सबैभन्दा धेरै एक खर्ब ५१ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा ५८ अर्ब २७ करोड बराबरको डिजेल, ३३ अर्ब बराबरको पेट्रोल र २७ अर्ब ४२ करोड रुपियाँ बराबरको खाना पकाउने एलपी ग्यास आयात भएको छ । 

यस्तै ६६ अर्ब १३ करोड रुपियाँ बराबरको फलाम र स्टिल आयात भएको छ । ६४ अर्ब ९२ करोड बराबरको विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा आयात भएको छ । ५७ अर्ब ४३ करोड ६२ लाख रुपियाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ । २८ अर्ब ७६ करोड बराबरको अन्नबाली आयात भएको तथ्याङ्क छ । 

यस अवधिमा २३ अर्ब २९ करोड बराबरको स्मार्टफोन र १८ अर्ब ८३ करोड बराबरको सुुन आयात भएको छ । 

विभागका अनुसार नेपालबाट सबैभन्दा धेरै ५६ अर्ब ८२ करोड ४२ लाख रुपियाँ बराबरको सोयाबिन तेल र चार अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपियाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ । विभिन्न मुलुकबाट सोयाबिन तेलको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुन निर्यात हुने गर्छ । यस्तै सात अर्ब १९ करोड ९५ लाख रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । 

नेपालले विभिन्न १५२ मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । तीमध्ये सबैभन्दा धेरै वैदेशिक व्यापार छिमेकी मुलुक भारतसँग रहेको छ । 

छ महिनामा भारतबाट सबैभन्दा धेरै पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख ८२ हजार रुपियाँको आयात हुँदा एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाख ८८ हजार रुपियाँको निर्यात भएको छ । आयातको तुलनामा निर्यात न्यून हुँदा भारतसँग चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख ९४ हजार रुपियाँ व्यापार घाटा रहेको छ । 

यस्तै चीनबाट एक खर्ब ९६ अर्ब ९४ लाख रुपियाँको आयात हुँदा ६४ करोड ९१ लाख रुपियाँ निर्यात भएको छ । चीनसँग एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रुपियाँ व्यापारघाटा रहेको छ । बाढीपहिरोका कारण चीनतर्फका उत्तरी नाका लामो समयसम्म बन्द हुँदा चीनमा निर्यात कम भएको हो । 

व्यापारिक सूचना आदानप्रदान गर्ने समझदारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । वस्तुको आगमन पहिले नै सूचना आदानप्रदान गर्दै जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्न नेपाल र भारतबिच समझदारी भएको छ । 

प्रमुख व्यापारिक साझेदार मुलुकबिच निकासी गरिने वस्तुको अग्रिम तथ्याङ्क आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भारतसँग निकासी गर्ने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदानप्रदान गर्ने व्यवस्था गर्न भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड र नेपालको भन्सार विभागको सहकार्यमा तयार गरिएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सबै सरोकारवालासँगको छलफल पनि अन्तिम रूप दिइएको उक्त समझदारीपत्र नेपाल सरकार (मन्त्रीपरिषद्) ले स्वीकृत गरी भन्सार विभागका महानिर्देशकलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो ।

त्यसै अनुरूप समझदारीपत्रमा बुधबार भारतको नयाँ दिल्लीमा नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गर्नुभएको भन्सार विभागले जनाएको छ ।

समझदारीपत्रमा जोखिम विश्लेषणमार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सारको प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदानप्रदान गर्ने, सूचनाको उपयोग समझदारीपत्र अनुकूल मात्र गर्ने, समझदारीपत्रको कार्यान्वयनका लागि सम्पर्क अधिकारी तोक्ने, दुवै पक्षबिच समझदारी भएका तोकिएका वस्तुमा नमुनाका रूपमा कार्यान्वयन गरी त्यसपछि सबै वस्तुमा लागु गर्ने, समझदारीपत्रमा उल्लेख भएका विषयको कार्यान्वयनमा विवाद भएमा आपसी सहमतिमा कूटनीतिक माध्यमबाट समाधान गर्ने तथा आपसी समझदारीमा समझदारीपत्रमा संशोधनसमेत गर्न सकिने प्रावधान छन् ।

हस्ताक्षर समारोहमा भन्सार विभागका महानिर्देशक भण्डारीले समझदारीपत्रलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजान जोड दिँदै यसले दुवै देशको भन्सार प्रशासनबिचको सम्बन्धलाई थप सबल बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले निकासी हुने वस्तुको आगमन पहिले नै तथ्याङ्क आदानप्रदानबाट जोखिम विश्लेषणमार्फत जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न र सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपासलाई छिटोछरितो र सहज बनाउन सहयोग पुग्ने बताउनुभयो । 

भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले समझदारीपत्रको शीघ्र कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो ।