• ७ माघ २०८२, बुधबार

नौमती-पञ्चेबाजा संरक्षण अभियानमा महिला

blog

नौमती सिकेपछि महिलाहरु । तस्बिर : शंकर केसी

शंकर केसी

शारदा (सल्यान), माघ ७ गते । आधुनिक मनोरञ्जन, डिजिटल संगीत र डीजे संस्कृतिको बढ्दो प्रभावका कारण नौमती र पञ्चेबाजा जस्ता मौलिक लोककला तथा संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् । 

विगतमा गाउँ समाजका विवाह, जात्रा, संस्कार र सांस्कृतिक कार्यक्रमका अनिवार्य अंग मानिने यी परम्परागत बाजा पछिल्लो समय सीमित स्थानमा मात्र प्रयोग हुन थालेका छन् । पुस्तान्तरणको अभाव र कलाकारको सम्मान तथा पारिश्रमिकको सुनिश्चितता नहुनुले मौलिक लोककला संरक्षण थप चुनौतीपूर्ण बनेको सरोकारवालाहरूको भनाइ छ ।

यस्तो अवस्थामा मौलिक कला र संस्कृतिको संरक्षणमा स्थानीय सरकारले अग्रसर भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरिएको छ । सीप हस्तान्तरणलाई निरन्तरता दिँदै नयाँ पुस्तामा संस्कृतिप्रतिको अपनत्व विकास गर्न स्थानीय तहको योजनाबद्ध पहल महत्वपूर्ण मानिन्छ ।

यही सन्दर्भमा सल्यानको त्रिवेणी गाउँपालिकाले लोपोन्मुख अवस्थामा पुगेका मौलिक लोककला र संस्कृतिको संरक्षण गर्नुका साथै महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले नौमती तथा पञ्चेबाजा सम्बन्धी तालिम सञ्चालन गरेको छ । गाउँपालिकाभित्रका आमा समूहलाई लक्षित गरी हालै १० दिनसम्म सञ्चालन गरिएको तालिममा दुई समूहका १७ जना महिलाको सहभागिता रहेको थियो ।

तालिममार्फत् सहभागी महिलाहरूले परम्परागत नौमती र पञ्चेबाजा बजाउने व्यावहारिक सीप हासिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिनुभयो । अघिल्लो वर्ष एक समूहलाई मात्र तालिम दिइएकोमा यस वर्ष महिलाको सहभागिता बढाउँदै दुई समूहलाई समेटिएको उहाँको भनाइ छ । 

त्रिवेणी गाउँपालिकाले विगतका वर्षहरूदेखि नै लोककला प्रदर्शन सम्मेलन, पालिकास्तरीय समारोह तथा विभिन्न कार्यक्रमहरूमा मौलिक संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ । यस वर्ष गाउँपालिकाको आयोजनामा तथा डेभलपमेन्ट सोसाइटी नेपालको समन्वयमा सञ्चालन गरिएको तालिममा सिन्धुली कलाघरका प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका थिए । तालिमले पुस्तान्तरणको अभावमा संकटमा पर्दै गएको मौलिक बाजा र लोककला संरक्षणमा टेवा पुग्नुका साथै महिलालाई सांस्कृतिक अभियानको अग्रपंक्तिमा उभ्याएको सहभागीहरूको भनाइ छ ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले कला र संस्कृति समाजलाई सही मार्गमा लैजाने आधार भएको उल्लेख गर्दै सीप र आयआर्जनसँग जोडिने कार्यक्रमलाई पालिकाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो । “कला र संस्कृतिको संरक्षणसँगै महिलाको आत्मनिर्भरता बढाउने लक्ष्यसहित नौमती तथा पञ्चेबाजा तालिम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो ।

महिलाको भूमिकालाई सशक्त बनाउँदै हराउँदै गइरहेका परम्परागत बाजा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा सहभागी शुभलक्ष्मी स्वास्थ्य आमा समूहकी अध्यक्ष कमला चन्दले यस वर्षको तालिम अघिल्लो वर्षको तुलनामा थप व्यवस्थित र सहज भएको बताउनुभयो । 

त्रिवेणी गाउँपालिकाको नौमती, पञ्चेबाजा, सोरठी र पैसरी नाच समूहले श्रीनगरमा जारी दोस्रो प्रादेशिक महोत्सवमा सांस्कृतिक प्रस्तुति समेत दिएको थियो । यसरी त्रिवेणी गाउँपालिकाले थालेको जस्तै व्यवहारिक पहल अन्य स्थानीय तहले पनि गर्न सके लोपोन्मुख मौलिक कला र संस्कृतिहरू पुनः जीवन्त बन्न सक्ने देखिन्छ ।