• २ असार २०८१, आइतबार

महँगी र कालोबजारी नियन्त्रण प्रयास,अब स्रोतमै निगरानी

blog

काठमाडौँ, असार ३० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी बढाउन थालेको जनाएको छ ।  उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो । 

“यसअघि हुँदै आएको अनुुगमनलाई निरन्तरता दिँदै आएका छौँ, अबको मुख्य अनुगमन मुुहान सफाइमा केन्द्रित गर्ने तयारी गरेका छौँ । मुहानमा धेरै बेथिति रहेकाले यसको पूरै सफा गर्न समय लाग्छ तर सुरुआत गरेका छौँ,” विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भन्नुभयो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा विभागले विभिन्न वस्तुगततर्फका उत्पादक उद्योगी र ठूला आयातकर्तालाई बोलाएर उत्पादन लागत र मूल्यबारे छलफल सुरु गरेको हो ।

विभागका महानिर्देशक शर्माले चिनी, खानेतेल, चामल, धान, सिमेन्ट, फलामे डन्डीलगायतका उत्पादक-उद्योगी र ती वस्तुुका ठूला आयातकर्तालाई बोलाएर मूल्यको विषयमा छलफल गरिएको र अबको अनुगमन तिनैमा केन्द्रित गरिने जानकारी दिनुभयो । 

साना पसल अनुगमन गर्दा हल्ला बढी भए पनि यसको परिणाम नदेखिएपछि स्रोतमै अनुगमन गरेर परिणाममा देखिने गरी काम गर्न थालिएको र पछिल्लो समय खाने तेल मूल्य घटेको उहाँले बताउनुभयो । विभागबाट वस्तुको मूल्य, गुणस्तर र लेबलिङसमेत हेरी मूल्याङ्कन तथा जाँचपासको व्यवस्था मिलाउने, औषधिजन्य सामग्रीको लेबलिङ, मूल्य, गुणस्तर सुधारका विषयमा पनि अनुगमन भइरहेको छ ।