• १६ भदौ २०८१, आइतबार

काभ्रेभीरमा सडक ९० प्रतिशत निर्माण सम्पन्न

blog

बेनीबाट यात्रु लिएर मुस्ताङ हिडेको बस काभ्रेभीर पार गर्दै । फाइल तस्विर

म्याग्दी, असार ३० गते । राष्ट्रिय गौरबको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउने कार्य अन्तिमचरणमा पुगेको छ । म्याग्दी र मुस्ताङको सिमाना स्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेभीरमा ६ महिना अघि देखि सडक फराकिलो बनाउन विष्फोटक पदार्थ मार्फत ब्लास्टिङ गरेर पहाड फुटाउन थालिएको थियो ।

एकहजार ६ सय मिटर भीर मध्य अव ५० मिटर मात्र फुटाउन वाँकी रहेको आयोजनाले जनाएको छ । ब्लास्टिङ गरेर फुटाइएको स्थानमा सडक फराकिलो पारेर यातायात सञ्चालनमा सहज बनाइएको छ । भौगोलिक रुपमा अत्यन्त जोखिम र काम गर्न कठिन मानिएको अक्केभीरमा सडक फराकिलो पार्ने काम करिब ९० प्रतिशत सम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो । सबैभन्दा कठिन र जोखिम मानिएको भीर फुटाउने काम अन्तिमचरणमा पुगेको छ उहाँले भन्नुभयो ‘भीर फुटाउने काम सकिएपछि यो खण्डको सडक ढलान गरिने छ ।’ वर्षातका मौसम भएकाले यतिखेर ब्लास्टिङको काम रोकएको उहाँले बताउनुभयो । वर्षात सिजन सकिएपछि वाँकी काम थाल्ने उहाँको भनाई छ । 


काभ्रेभीरमा सडक निर्माण गर्नु आयोजनाकै सवैभन्दा ठूलो चुनौती थियो आयोजना प्रमुख प्रजापतिले भन्नुभयो ‘जोखिम मोलेर कडा चट्टानी भीर फुटालेर आठ मिटर चौढाई भएको सडक निर्माण गर्न आयोजना सफल भएको छ ।’ 

कम्तीमा दोहोरो सवारी आवतजावत हुने गरि सडक फराकिलो बनाउने लक्ष्य रहेको  आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । जोमसोम स्थित नेपाली सेनाको बज्रदल गणबाट खटिएका सुरक्षाकर्मीको निगरानीमा शर्मा गजुरमुखी जेभीले ब्लास्टिङको काम गरेको आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताउनुभयो । भीर फुटालेका स्थानमा  सडक फराकिलो बनाई यातायात सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।  

भीरमा साढे ३ मिटर फराकिलो रहेको सडकलाई कम्तीमा आठ मिटरसम्म फराकिलो बनाइएको उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडकलाई ११ मिटर चौडा बनाउने मापदण्ड रहेपनि अक्करे पहाड भएकाले काभ्रेभिर क्षेत्रमा भने ६ देखि ८ मिटरसम्म फराकिलो बनाउने योजना थियो । यो भीर सवैभन्दा जोखिम र दुर्घटना हुने खण्डमा पर्दछ । 

अक्करे ठूलो पहाड भएकाले अयोजनाकै सवैभन्दा यो कठिन खण्ड हो । विष्फोटक पदार्थको सहयोगले सडक निर्माण गरेपनि सुख्खा पहिरो जाने र सडक भत्किने जोखिम उत्तिकै छ । काभ्रेभीरमा सडक फराकिलो बनाउने काम सकिएपछि म्याग्दीको भुरुङ तातोपानी देखि मुस्ताङको घाँस सम्म अर्को वर्ष सडक कालोपत्रेको गरिने आयोजनाले जनाएको छ । 

Author

ठाकुरप्रसाद आचार्य