• ४ माघ २०८२, आइतबार

गजल एल्बम ‘मतला’ सार्वजनिक

blog

काठमाडौँ, माघ ४ गते । भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक गरिएको छ ।  रिदम रेकरडिङ्सको प्रस्तुति रहेको गजलमा जीवनप्रकाश प्रधान सङ्गीत रहेको छ । गजलकार राधा कर्णेलको तीन, रश्मि असफल र घनेन्द्र ओझाको दुई–दुई वटा गजलहरू समेटिएको गजलमा दार्जिलिङका तीन र नेपालका दुई गायक, गायिकाले स्वर दिनुभएको छ । गजलमा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले ‘मतला’ ले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्ने बताउनुभयो । शब्द र सङ्गीतको उपयुक्त संयोजन अनि स्वरको सही छनोटले गजल उत्कृष्ट बन्ने भन्दै बरालले ’मतला’भित्रका गजलमा यी विशेषता रहेका धारणा व्यक्त गर्नुभयो ।  

गजलमाथि समीक्षा गर्नुहुँदै सङ्गीतकार सन्तोष श्रेष्ठले ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०’ अभियानअन्तर्गत भारतबाट समेत नेपाली गजल आउनुले अब नेपाली गजल लेखनसँगै गायनले पनि व्यापकता पाएको बताउनुभयो । श्रेष्ठले गजल साङ्गीतिक हिसाबले सुन्दर र सशक्त भएको धारणा व्यक्त गर्नुभयो ।

अर्का समीक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने धारणा राख्नुभयो । 

सङ्गीतकार प्रधानले गजलको शुभारम्भ शेर भएजस्तै यो एल्बम पनि आफ्नो गजल सङ्गीतको शुभारम्भ भएको बताउनुभयो । अनाममण्डलीले आयोजना गरेको कार्यक्रमलाई लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले व्यवस्थापनमा सहयोग गरेको थियो । कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले गर्नुभएको थियो भने सहजीकरण ज्ञानु विद्रहीले गर्नुभएको थियो ।