राजन रावत
हुम्ला, माघ २ गते । जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिका–२ स्थित ठुलाखोलामा ढुङ्गा ओसार्दै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । भे.२ .त २०५५ नम्बरको ट्याक्टर दुर्घटनामा सुम्ला घर भएका चालक ३० वर्षीय नगेस रावलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले सो दुर्घटनमा परि चालक रावलको मृयु भएको बताउनुभयो । उहाँका अनुसार गल्फागाड–श्रीनगर सडक खण्डका लागि ढुङ्गा ओसार्ने क्रममा ट्याक्टर ठुलाखोलामा दुर्घटनामा परेको हो । दुर्घटना हुँदा ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेको र पूर्ण रूपमा क्षतिग्रस्त भई टुक्रा–टुक्रा अवस्थामा पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाको वास्तविक कारणबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धानपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ ।
घटना जानकारीपछि श्रीनगर प्रहरी चौकीले घटनास्थलमा सुरक्षा दिइरहेको छ । उक्त ट्याक्टर विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधीन कर्णाली करिडोरअन्तर्गत गल्फागाडदेखि श्रीनगरसम्म करिब नौ किलोमिटर सडक कालोपत्रे कार्यका लागि ढुङ्गा ढुवानी गर्दै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।