रमेश विश्वकर्मा
गुल्मी, माघ २ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना गुल्मीमा म्याद दुई दिन थप गरिएको छ । गत पुस २५ गतेदेखि माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्ना आवेदन दिने समय तोकिएको थियो । यस जिल्लालाई आवश्यक पर्ने निर्वाचन प्रहरी सङ्ख्याको तुलनामा आवेदन कम परेको हुँदा गृह मन्त्रालयको निर्देशानुसार दरखास्त दिने अवधि दुई दिन थप गरी दरखास्त दिने अन्तिम म्याद माघ ३ गते शनिबारसम्म कायम गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक केसीका अनुसार बिहीबार दिउँसोसम्म निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीतर्फ एक हजार १२८ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ १३१ जनाले आवेदन दिनुभएको छ । यस जिल्लामा नेपाल प्रहरीतर्फ एक हजार ६९५ जना र सशस्त्र प्रहरी बल नेपाल तर्फ १७९ जना निर्वाचन प्रहरी भर्ना गरिँदै छ । प्रतिनिधिसभा निर्वाचनको लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ती तथा परीचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधी–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना आवेदन चलिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मी, इलाका प्रहरी कार्यालय रिडी, इलाका प्रहरी कार्यालय पुर्कोटदह र सशस्त्र प्रहरी बल नपाल नम्बर ३७ गुल्म हे. क्वा. गुल्मीमा १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाका नेपाली नागरिकले आवेदन दिन पाइनेछ ।
निर्वाचन प्रहरी हुनका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ । त्यस्तै शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च, तौल ४२ के.जी. भएको, महिलाको हकमा गर्भवती नभएको/नरहेको हुनुपर्नेछ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षकलाई प्राथमिकता दिइने छ । अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेको छ । उहाँका अनुसार महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता रहेका छन् । हालसम्म यस जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यस जिल्लामा १४ सय ६० म्यादी प्रहरी भर्ना गरिएको थियो । जसमा ११ सय ३२ पुरुष र ३२८ महिला रहेका थिए ।