• २ माघ २०८२, शुक्रबार

स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो

blog

निर्वाचन प्रहरीका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय पुगेका युवाहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 
वालिङ, माघ २ गते ।
स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ । गएको पुस २४ गते निर्वाचन प्रहरी भर्नाको सूचना प्रकाशन भई २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने समय थियो । यसमा दुई दिन थपेर माघ ३ गतेसम्म आवेदन दिन सक्ने बनाइएको छ ।

स्याङ्जामा नेपाल प्रहरी तर्फ एक हजार नौं सय ४७ र सशस्त्र प्रहरी तर्फ १७९ जना गरी दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने पूर्व योजना रहेको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम दरखास्त दिने समय दुई दिन थपिएको प्रहरीको भनाइ छ  ।

बुधबार साँझसम्म नेपाल प्रहरी तर्फ एक हजार तीन जना र सशस्त्र प्रहरी तर्फ १४३ जनाले दरखास्त दिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।

यसअघि निर्वाचनको सुरक्षामा सघाउन भर्ना गरिने सुरक्षाकर्मीलाई म्यादी प्रहरी भन्ने गरिएकोमा यसपटक निर्वाचन प्रहरी नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम माग देशैभर निर्वाचन प्रहरी भर्ना चलिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ र ईलाका प्रहरी कार्यालय चापाकोटबाट फारम वितरण भइरहेको प्रहरीले जनाएको छ । यस्तै सशस्त्र प्रहरीका लागि वालिङ स्थित ३० नं.गुल्मबाट फारम वितरण भइरहेको छ ।

१८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेकाका नेपाली नागरिकले यसमा आवेदन दिन मिल्ने प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो । 
निर्वाचन प्रहरीमा दरखास्त दिन शुल्क लाग्दैन । उत्तीर्ण भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने छ । माघ ३ गतेसम्म आवदेन दिनेहरूको सम्पर्क माघ ४ गते तोकिने प्रहरीले जनाएको छ ।