सिराज खान
नेपालगन्ज, माघ १ गते। बाँकेको नरैनापुर गाउँपालिकाले पालिका भित्रका १२८ भूमिहीन दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरेको छ।
चिसो मौसममा न्यानो कपडाको अभावले अत्यधिक जोखिममा परेका दलित परिवारको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर न्यानो लुगा वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
नरैनापुर गाउँपालिकाको आयोजना तथा रेन परियोजनाको आर्थिक सहयोगमा १२८ दलित परिवारलाई पाँच लाख रुपियाँभन्दा बढी मूल्यका कम्बल, ज्याकेटलगायत न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो।
उहाँले चिसोका कारण कुनै पनि नागरिक पीडामा नपरोस् भन्ने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। यस सहयोगले कमजोर वर्गलाई तत्काल राहत मिल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
भूमिहीन दलित परिवारले न्यानो कपडा र सिरक पाउँदा खुसी व्यक्त गर्दै गाउँपालिका र सहयोगी निकायप्रति आभार जनाएका छन्।
वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम मौर्यले चिसोबाट सबै वर्गलाई सुरक्षित राख्नु स्थानीय सरकारको दायित्व भएको जनाउँदै जाडो मौसममा बढी जोखिममा रहने ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर न्यानो लुगा वितरण गरिएको बताउनुभयो।