• १४ चैत २०८२, शनिबार

आगलागीलगत्तै राहत वितरण, पीडितको घर पुनर्निर्माण सुरु

blog

आगलागिबाट ध्वस्त घरको पुनर्निर्माणमा काम गर्दै डिएसपी डा. हेमबहदुर केसी । तस्बिर : शंकर केसी

शंकर केसी
सल्यान, १४ चैत ।
सल्यानको कपुरकोट गाउँपालिका–५ पाङराङमा आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएको घरको पुनर्निर्माण कार्य सुरु गरिएको छ । बिहीबार राति भएको आगलागीबाट पीडित दिलबहादुर बिकको घर शुक्रबारदेखि नै पुनर्निर्माण थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी डा. हेम बहादुर केसीका अनुसार आगलागीबाट ध्वस्त भएको घर पुनर्निर्माणका लागि कपुरकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको छ । प्रारम्भिक राहत वितरणसँगै पुनर्निर्माण कार्य अघि बढाइएको उनले बताए ।

प्रहरीका अनुसार बिहीबार राति करिब ११ः३० बजेतिर एकतले तीन कोठे कच्ची घरमा एक्कासी आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट करिब १० लाख रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न सामग्री तथा काठलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनापछि कपुरकोट गाउँपालिकाका जनप्रतिनिधि तथा डिएसपी केसी स्वयं पीडितको घरमा पुगेर खाद्यान्नसहितका प्रारम्भिक राहत सामग्री वितरण गरेका थिए । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डा. केसीको नेतृत्वमा प्रहरी टोलीले विपद् प्रभावित तथा विपन्न परिवारका लागि आवास निर्माण, विद्यालय तथा पुलजस्ता सार्वजनिक संरचना निर्माणमा समेत स्थानीय तह र सामाजिक व्यक्तित्वहरूसँग सहकार्य गर्दै आएको छ ।