• १ माघ २०८२, बिहिबार

निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

blog

जिल्ला प्रहरी कार्यालय कास्कीमा निर्वाचन प्रहरीका लागि आवेदन दिन आएका युवा । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ १ गते। कास्कीमा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ। गएको पुस २४ गते निर्वाचन प्रहरी भर्नाको सूचना प्रकाशन भई २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिने समय थियो। अपेक्षितभन्दा कमले निर्वाचन प्रहरीमा आवेदन गरेपछि म्याद दुई दिन थपेर माघ ३ गते शनिबारसम्म लम्ब्याइएको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बिहीबार दिउँसोसम्म कास्कीमा निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीतर्फ एक हजार छ सय दुईले आवेदन गरेको जानकारी दिनु भयो। कास्कीमा दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी भर्ना गरिँदै छ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालले भन्नु भयो, “कास्कीमा आवश्यकताभन्दा कम आवेदन परेपछि गृह मन्त्रालयको निर्देशन बमोजिम दरखास्त दिने समय दुई दिन थपिएको छ।”

यसअघि निर्वाचनको सुरक्षामा सघाउन भर्ना गरिने सुरक्षाकर्मीलाई म्यादी प्रहरी भन्ने गरिएकोमा यसपालि निर्वाचन प्रहरी नाम दिइएको छ। निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम माग देशैभर निर्वाचन प्रहरी भर्ना चलिरहेको छ। 

जिल्ला प्रहरी कार्यालय कास्की र सशस्त्र प्रहरी बलको कालिका गणबाट फारम वितरण भइरहेको र फारम वितरण हुने स्थानमै बुझाउन मिल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनु भयो।  १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेकाका नेपाली नागरिकले यसमा आवेदन दिन मिल्छ।

निर्वाचन प्रहरी हुन साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको, शारीरिक र मानसिक रूपले स्वस्थ व्यक्ति हुनपर्छ। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षकलाई प्राथमिकता दिइने छ। अघिल्ला प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिएको छ। 

निर्वाचन प्रहरीमा दरखास्त दिन शुल्क लाग्दैन। उत्तीर्ण भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने छ। माघ ३ गतेसम्म आवदेन दिनेहरूको सम्पर्क मिति माघ ४ गते तोकिने छ। 

निर्वाचन प्रहरीको नियुक्ति पाएको मितिले ४० दिन वा सरकारले तोकेबमोजिम काम गर्नु पर्ने छ। निर्वाचन प्रहरीले प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपियाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७ सय ७६ पाउने छन्। उनीहरूलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार ४० दिनका लागि खाद्यान्न बापतको रकम र निर्वाचनको क्रममो ठाउँमा आउने र जाने तयारीस्वरूप आठ सय ४६ रुपियाँ र तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार दुई सय खाजा खर्च दिइने छ।