• १ माघ २०८२, बिहिबार

पिँढीमा बसेरै सेवा प्रवाह

blog

भरतपुर महानगरपालिका–३ का अध्यक्ष विकास थापा वडावासीलाई सेवा प्रवाह गर्नुहुँदै । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, माघ १ गते । स्वास्थ्य संस्थाको पिँढीमा बसेर वडा कार्यालय सञ्चालन गरेको चार महिना बितिसकेको छ । पानी पर्दा दौडेरभित्र जाने र घाम लाग्दा बाहिर आउने गर्दै कार्यालयले सेवा प्रदान गरेको हो । पर्याप्त बस्ने स्थानको अभाव, चिसो मौसम तथा तुसारो परेको बेला पनि बाहिरै बसेर काम गर्नुपर्ने बाध्यता छ ।

भरतपुर महानगरपालिका–३ का अध्यक्ष विकास थापाको दैनिकी स्वास्थ्य संस्थाको पिँढीमा बसेर सेवा प्रदान गर्नुभएको छ । गत भदौमा जेनजी समूहको आन्दोलनका व्रmममा जीर्ण रहेको वडा कार्यालय भवन जलाइदिएपछि अर्कै संस्थाले आश्रय दिएको स्थानमा बसेर सेवा दिन थाल्नुभएको हो । अध्यक्ष थापाले भन्नुभयो, “असोज÷कात्तिकमा परेको झरीमा पनि यही चिसो पिँढीबाट जनताको काम गरेको थिएँ । अहिले तुसारोको समयमा पनि यही पिँढी नै मेरो कार्यकक्ष भएको छ ।”

उहाँले भन्नुभयो, “घाम लागेका बेला बाहिर आउँछु । पानी प¥यो भने कागजपत्र जोगाउन भित्र जान्छु । फेरि पानी पर्न रोकिन्छ अनि बाहिर आउँछु । मेरो दैनिकी यसरी नै बितेको छ ।” आगजनी भएपछि कार्यालय बस्न अयोग्य भएको छ । पुनर्निर्माणको प्रव्रिmया अघिबढेको त छ तर कहिले तयार हुन्छ भन्ने टुङ्गो छैन । जनतालाई दिने सेवा रोक्न हुँदैन, उहाँले भन्नुभयो, “त्यसैले स्वास्थ्य संस्थाको पिँढीमा बसेर कार्यालय सञ्चालन गरिरहेको छु । जनप्रतिनिधि भएपछि जस्तोसुकै समस्यामा परे पनि जनताको काम गर्न छाड्न हुँदैन भन्ने मेरो मान्यता छ । त्यसैले स्थान होइन, काम ठुलो भनेर सेवा गरिराखेको छु ।” वडामा नै रहेको बालकुमारी प्रस्तावित प्रसूतिगृहको भवन खाली छ तर सो भवनमा वडा कार्यालय राख्नका लागि वडा सदस्य तथा महानगरपालिकाले सहमति नदिएपछि ३ नं. वडा कार्यालयको काम स्वास्थ्य संस्थाको पिँढीबाट सञ्चालन गर्न बाध्य हुनुपरेको हो ।

भरतपुर महानगरपालिकाका २९ वडा कार्यालयमध्ये १९ वटामा आगजनी भएको थियो । तीमध्ये छ वटा वडा कार्यालय पुनः मर्मत गरेर बस्न योग्य छैनन् । प्राविधिक टोलीले भवन पुनर्निर्माण गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको छ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले वडा कार्यालय निर्माणका लागि योजना बनाएको बताउनुभयो । “आजगनीबाट महानगरमा ठुलो क्षति भएको छ,” उहाँले भन्नुभयो, “मुख्य कार्यालयमा नै करोडौँको नोक्सानी भएको छ । जनताको सेवाका लागि अस्थायी भवनबाट काम गरेका छौँ । कठिन समयमा जस्तोसुकै स्थानबाट भए पनि सेवा दिनु पर्छ ।” केही समयपछि बस्ने ठाउँको व्यवस्था गरिने उहाँले बताउनुभयो । 

महानगरले मर्मत तथा पुनर्निर्माण गर्न चालु आर्थिक वर्षको बजेटबाट १७ करोड ७८ लाख रुपियाँ कटौती गरेर खर्च गर्दै छ । तोडफोड र आगजनीमा परेको संरचना पुनर्निर्माण तथा विभिन्न सामग्री खरिदका लागि महानगरको चालु आव २०८२/८३ का लागि विनियोजित बजेटबाट १७ करोड ७८ लाख रुपियाँभन्दा बढी कटौती गरेको हो ।  महानगरतर्फको आठ करोड ४६ लाख र वडातर्फको आठ करोड ७१ लाख रुपियाँ बजेट कटौती गरेको महानगर उपप्रमुख अधिकारीले बताउनुभयो । आव २०८२/८३ का लागि विनियोजित चालुतर्फको योजना तथा कार्यव्रmम कटौती गरेको हो । महानगरका प्रत्येक वडाको ३० लाख रुपियाँ बराबरको बजेट कटौती भएको छ ।