• १ माघ २०८२, बिहिबार

थारु समुदायमा धुमधाम माघ पर्व

blog

मघौटा नाच नाच्दै थारु युवतीहरु ।

अविनाश चौधरी

धनगढी, पुस ३० गते । थारु समुदायमा माघ पर्व (माघी) को रौनक धुमधाम छाएको छ । यो समुदायको सबैभन्दा ठुलो पर्व माघीको रौनक गाउँबस्तीमा छाएको हो । 

थारु समुदायका मानिसले वर्षदिनको दुःखकष्ट भुलेर हर्षोल्लासपूर्वक माघ पर्व मनाइरहेका छन् । यो पर्व थारु समुदायको नयाँ वर्ष पनि हो । माघ १ गतेबाट थारु सम्वत २६४९ सुरु हुँदैछ । माघलाई स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने चलन रहेको छ । जमिन्दारका घरमा कमैयाँका रुपमा काम गर्ने थारु समुदायका व्यक्तिले माघ पर्वमै मालिकको घरबाट बिदा पाउने गरेका थिए । 

माघ पर्वको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन विहानै जिता मार्ने (सुङ्गुर काट्ने) चलन रहेको धनगढी उपमहानगरपालिका –७ देवहरियाका खर्चराम चौधरीले बताउनुभयो । उहाँका अनुसार जिता मारेर गाउँभरीका मानिसले बाँडीचुँडी मासु लिने चलन छ । यो दिन प्रत्येकको घरमा सुङ्गुरको मासु पाक्ने र इष्टमित्र आफन्तसँग रमाइलो गर्दै मिठा परिकार खाने चलन छ । 

यसैगरी, डफको तालमा ढमार र ढुमरु गीत गाउने, मघौटा नाच नाच्ने गरिन्छ । माघ १ गते विहानै नदी, कुलो, तलाउमा नुहाएर एकअर्कालाई सेवाढोग लाग्दै ठुलावडाबाट आशीर्वाद लिने गरिएको छ । यसदिन, ढिक्री, मासु, तरुल लगायतका परिकार खाएर रमाउने चलन रहेको चौधरीले बताउनुभयो । 

माघ पर्वको अन्तिम अर्थात तेस्रो दिनदेखि थारु समुदायमा खोज्नीबोज्नी सुरु हुने गर्दछ । यसदिन घरपरिवारमा वर्षभरिको सरसल्लाह, छलफल, योजना निर्माण, विगतको समीक्षा गर्ने चलन रहेको छ । यसैदिन घरमूली पनि चयन गर्ने गरिन्छ । यसैगरी, विगतको कामको समीक्षा गर्दै वर्षभरिको लागि योजना निर्माण र नयाँ भलमनसा चयनको कार्य हुनेगरेको गोदावरी नगरपालिका–८ मजगाउँका जनकलाल चौधरीले बताउनुभयो । 

माघ १ गतेदेखि जाडो घट्न थाल्ने, प्रकृतिमा परिवर्तन देखा पर्ने, हिउँदमा पात झरेका बोटविरुवाको नयाँ पात निस्कन थाल्ने गरेकाले माघ पर्वलाई नयाँ वर्ष मानिएको चौधरीको भनाइ छ । 

माघमा गाउँमा मात्रै खोज्नीबोज्नी नभइ घरमा पनि हुने, नयाँ नेतृत्व चयन गर्ने, समीक्षा गर्दै योजना बनाउने गरिएकाले यसलाई पुर्खाहरुले नयाँ वर्ष भनेको गोदावरी नगरस्तरीय भलमन्सा समितिका अध्यक्षसमेत रहनू भएका चौधरीको भनाइ छ ।