• १ माघ २०८२, बिहिबार

मनरीमा २० वर्षदेखि खिचडी महोत्सव हुँदै

blog

खिचडी महोत्सवमा थारु भेषभुषामा सजिएर नृत्य प्रस्तुत गर्दे स्थानीय कलाकार । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी

पश्चिम नवलपरासी, पुस ३० गते । पश्चिम नवलपरासीमा सरावल गाउँपालिका –२ मनरीमा विगत २० वर्षदेखि माघे संक्रान्तिको अवसरमा खिचडी (माघी) महोत्सव हुँदैआएको छ । हरेक वर्ष आयोजना हुने माघी महोत्सव यस वर्ष पनि आजबाट सुरु भएको छ । 

महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री खड्ग बस्नेतले आफ्नो धर्म संस्कृति बचाउन सबै एकजुट बन्नुपर्नेमा जोड दिनुभयो । थारू समुदाय विशिष्ट पहिचान भएको जाति भएको उल्लेख गर्दे बस्नेतले हराउँदै गएका थारु कला संस्कृति संरक्षणमा माघी महोत्सव सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । माघीको अवसरमा सरावलमा लाग्ने मेला महोत्सवमा नवलपरासीसँगै आसपासका जिल्ला र भारतबाट समेत मानिसहरू आउनेगरेका छन् । 

माघी रमाइलोका लागि २० वर्ष अगाडि सुरु गरिएको माघी मेला अहिले थारु समुदायको संस्कृति जगेर्ना गर्ने अवसरको रुपमा स्थापित भएको थारु अगुवा कृष्णदत्त थारुले बताउनुभयो । महोत्सवमा थारु समुदायले परम्परागत रुपमा प्रयोग गर्दैआएको विभिन्न सामग्री प्रदर्शनमा राखिएको छ । आयोजक श्रीराम युवा प्रतिष्ठानका अध्यक्ष चक्रमणी चौधरीले नयाँ पुस्तालाई थारु संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले माघी मेलामा थारुका पहिचान झल्कने सामग्री प्रदर्शनमा राखेर थारु जातिको परम्परागत घर निर्माण गर्ने गरिएको बताउनुभयो । स्थानीय खानाका परिकार, थारु जातिको भेषभुषा र कला संस्कृतिको प्रस्तुतिसहित थारु संस्कृति संरक्षणका सन्दर्भमा अन्तरक्रिया गरिने माघी महोत्सव तीन दिनसम्म चल्ने छ । 

सरावल गाउँपालिकाले मनरीमा थारु सांस्कृतिक पार्क निर्माणको कामलाई तिव्रता दिएको छ । गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले थारु बाहुल्य रहेको र संस्कृतिको धनी क्षेत्र भएकाले थारु जातिको भाषा, कला संस्कृति र थारु खानाका परिकारको संरक्षणका लागि पार्क निर्माण थालिएको बताउनुभयो । पाँच वर्षमा सम्पन्न गर्नेगरि स्थानीय र संघीय सरकारको लगानीमा उक्त पार्क निर्माणको काम सुरु भएको छ ।