चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङमा तरुल (कन्दमुल) को मूल्य मङ्गिएको छ । यसवर्ष माघे (मकर) सङ्क्रान्ति पर्वमा तरुलको मूल्य महङ्गो भएको हो ।
विगतका वर्षमा भन्दा यो वर्ष तरुलको मूल्य महङ्गो भएको उपभोक्ताले बताएका छन् । स्थानीय उपभोक्ताका अनुसार सदरमुकाम फुङ्लिङमा लागेको यसपटकको मङ्गलबारे हाटमा महङ्गो मूल्यमा तरुलको खरिदबिक्री भएको छ ।
माघे सङ्क्रान्तिअघि मङ्गलबार लागेको हाट बजार तरुलकै बजार झैँ भए पनि मूल्य भने विगत वर्षका तुलनामा महङ्गो भएको फुङ्लिङ नगरपालिका–५ का उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार मङ्गलबारे हाटमा प्रतिकिलोग्राम न्युनतम् ८० रुपियाँदेखि २५० रुपियाँ सम्ममा तरुलको खरिद विक्री भएको छ ।
लिम्बू सहितका उपभोक्ताले माघे सङ्क्रान्ति मनाउनुपर्ने भएकाले महङ्गो मूल्य लगाएरै भए पनि तरुल किन्न बाध्य भएको बताएका छन् । चाडपर्वको मौका पारेर स्थानीय व्यापारीले तरुलको मूल्य महङ्गो निर्धारण गर्ने गरेको उपभोक्ताको गुनासो रहेको छ ।
हाट बजारमा बिक्री गरिने तरुलको मूल्य स्थानीय व्यापारी र उत्पादक किसान आफैँले तोक्ने गर्दछन् । तरुलको जात र प्रजातिअनुसार मूल्य तोकिने अर्थात निर्धारण गर्ने गरिन्छ । स्थानीय व्यापारी तथा किसानले सामान्य घरतरुलको प्रतिकिलोग्राम ८० रुपियाँदेखि १५० रुपियाँसम्म निर्धारण गरेर विक्री गरेका छन् ।
त्यस्तै वनतरुल र पताले २०० देखि २५० रुपियाँसम्म मूल्य निर्धारण गरी व्यापारीले बिक्री गरेका छन् । स्थानीय उत्पादनको सिँदुरे तरुल, सिमले, स्कूसको तरुल र पिँडालुजस्ता तरुलका प्रजाति हाट बजारमा खदिर बिक्री गर्ने गरिएको छ । यता गाउँका किसानले उत्पादन गरेको तरुल अर्गानिक हुनुका साथै स्वादिष्ट पनि हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको बताइन्छ ।