• ३० पुस २०८२, बुधबार

व्यावसायिक वातावरण बनाउन निजी क्षेत्र क्रियाशील : अध्यक्ष ढकाल

blog

माघेसङ्क्रान्ति मेलामा विचार व्यक्त गर्नु हुँदै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, पुस ३० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यवसायिक वातावरण बनाउन सरकार र निजी क्षेत्र  क्रियाशील रहेको बताउनु भएको छ । उद्योगी व्यवसायीलाई ढुक्कसँग लगानी गर्ने वातावरण तयार पार्न निजी क्षेत्रले सरकारसँग निरन्तर रुपमा छलफल र संवाद गरेको उहाँको भनाइ छ । 

म्याग्दीको बेनीमा बुधबारदेखि सुरु भएको ११ औं माघे सङ्क्रान्ति मेलाको उद्घाटन गर्नु हुँदै अध्यक्ष ढकालले विभिन्न आन्दोलनका नाममा व्यवसायी माथि प्रहार हुने भएकाले आगामी दिनमा उद्योग व्यवसायलाई बन्द हड्ताल, आगजनी, लुटपाट र तोडफोड निषेधित क्षेत्र घोषणा गर्नका लागि उद्योग वाणिज्य महासङ्घले आवश्यक पहल गरिरहेको बताउनु भयो । 

निजी क्षेत्र, सरकार, राजनीतिक दल र सरोकारवालहरूका बिच छलफल गरी मुलुकमा व्यवसायिक वातावरण बनाउनका लागि नेपाल सरकारबाट उद्योग व्यवसायको क्षेत्रमा बन्द हड्ताल निषेधित क्षेत्र घोषणाको तयारी भएको उहाँको भनाइ थियो । 

उहाँले भन्नु भयो,‘‘निजी क्षेत्रले बृहत् छलफल गरी नेपाल सरकारलाई यस बारेमा ड्राफ्ट नै बनाएर बुझाएका छौं । प्रधानमन्त्रीबाट पनि सकरात्मक भनाइ आएको छ । केही दिनमा उद्योग प्रतिष्ठानमा बन्द हडताल,लुटपाट र आगजानी निशेधित क्षेत्र घोषणा हुन्छ ।’’ यसो गर्न सकेमा मुलुकमा थप व्यवसायिक वातावरण बन्न सक्ने उहाँको भनाइ थियो । लगानीको वातावरण तयार पारी स्वदेशमै रोजगारी सिर्जना गर्नसकेमा युवाशक्ति पलायन हुनबाट रोक्न सकिने उहाँले बताउनु भयो । 

जेनजी आन्दोलन सकरात्मक उद्देश्यले भएपनि विभिन्न घुषपैठ भई व्यवसायिक क्षेत्रमा ठुलो नोक्सानी पुर्‍याउने काम भएको उहाँको भनाइ थियो । आगामी दिनमा यस्ता आन्दोलनमा व्यवसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उहाँले बताउनु भयो । 

अध्यक्ष ढकालले म्याग्दीमा जलविद्युत्,पर्यटन र कृषिको राम्रो सम्भावना भएकाले स्थानीय सरकार सँग मिलेर निजी क्षेत्रले लगानी गर्न चाहेको बताउनु भयो ।

मुस्ताङको कोरला नाका सञ्चालनमा आएसँगै यस क्षेत्रको विकासमा ठुलो टेवा पुगेको उहाँको भनाइ थियो । चीन र भारतलाई जोड्ने कालिगण्डकी कोरिडोर सडक निर्माणले बागलुङ,पर्वत,म्याग्दी र मुस्ताङको पर्यटन विकासमा फड्को मारेको उहाँले बताउनु भयो । अध्यक्ष ढकालले स्वदेशमै लगानी, रोजगारी र आत्मनिर्भरताको वातावरण तयार पारी युवा शक्तिलाई आशा देखाउनु पर्ने बताउनु भयो । उहाँले मेला महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विचार व्यक्त गर्नु भयो ।