• ३० पुस २०८२, बुधबार

बेनीमा आजदेखि माघे सङ्क्रान्ति मेला सुरु हुँदै

blog

मेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, पुस ३० गते ।
म्याग्दीको बेनीमा बुधबारदेखि सुरु हुने माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको नेतृत्वमा ११ औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

बेनीको खुल्ला मञ्चमा हुने मेलाको स्टेज निर्माण, व्यवसायिक स्टल, स्थानीय उत्पादनका स्टल, साउण्ड सिस्टम, रमाइलो मेलालगायत सम्पूर्ण तयारी पूरा भएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।

मेलाको उद्घाटन पूर्व बेनीमा विभिन्न जातजाति र समुदायको मौलिक कला संस्कृति झल्किने झाँकीसहित प्रभातफेरी गरिने भएको छ । मेलाको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम छ ।

बेनीमा लाग्ने परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय मौलिक कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरुको प्रोत्साहन तथा पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको महिला उद्यम विकास समितिकी सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादन र लघुउद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद बिक्रीसमेत हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

मेलामा खुला लोकनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरूले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धूप बनाउने प्रतियोगिता, खुला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरूको विद्यालयस्तरीय पेन्टिङ प्रतियोगिता र छेलोलगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिले जनाएको छ ।

उद्यमशील सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको उद्यमशील व्यावसायिक योजना प्रतियोगिता समावेश गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

उहाँले माघे सङ्क्रान्ति मेलाले महिला उद्यमीहरूको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवर्धनमा सघाउ पुग्ने आयोजकले अपेक्षा गरेका छन् ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ । मेलामा कृषि विकास कार्यालयको सहकार्यमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयको सहकार्यमा पशुजन्य उत्पादनको प्रदर्शनी राखिने भएको छ ।