• ३० पुस २०८२, बुधबार

धरानमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

blog

निशा राई
धरान, पुस ३० गते ।
धरान उपमहानगरपालिकामा धारिलो हतियार खुकुरीको प्रहारबाट एक जनाको मृत्यु भएको छ । धरान–११ पुण्यमार्गमा बस्ने ३५ वर्षीय रुपक राईको मङ्गलबार राति आफ्नै घरभित्र टाउकोमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषण बाबु राईले जानकारी दिनुभयो  ।

मृतक राईको टाउकोमा पटक–पटक खुकुरीले प्रहार गरिएको देखिएको उहाँले बताउनुभयो । टाउकोमा खुकुरी प्रहारका कारण गम्भीर चोट लागि उहाँको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा शङ्कास्पद देखिएपछि घटनाको अनुसन्धानका क्रममा सोही घरमा सँगै बस्दै आएका मृतकका मामाका छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो । घटना सम्बन्धमा स्पष्ट कारण खुलिनसकेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।