• ३० पुस २०८२, बुधबार

घरैघरले भरिँदै मार्तडी जिउलो

blog

घरैघरले भरिँदै गएको मार्तडीवासीको भात खाने मार्तडी जिउलो । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता 

बाजुरा, पुस ३०  गते । बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ र ९ को मार्तडीवासीको भात खाने जिउलो पछिल्लो समय घरैघरले भरिँदै गएको छ । मार्तडीका पहिलो पुस्ताले मार्तडी जिउलोलाई भात खाने जिउलो भन्ने गथ्र्ये । यहाँ धेरै धान फल्ने गथ्र्यो । उनीहरूले यो मार्तडी जिउलो जोगाउँदै आएका थिए । 

अहिले उनीहरूका नयाँ पुस्ताले मार्तडी जिउलोलाई घर पसल लगाउनका लागि बिक्री गर्न थालेपछि अहिले सो जिउलो घरैघरले भरिँदै गएको हो । मार्तडीवासीले जिउलो बेच्दै र बाहिरबाट आउनेहरूले किन्दै आएपछि अहिले सो जिउलोमा घरैघर निर्माण हुन थालेको मार्तडीका स्थानीय बताउँछन् । पहिला यहाँका अधिकांश स्थानीयले धानखेती गर्दै आएको जिउलोलाई अहिलेका नयाँ पुस्ताले बिक्री गर्दै व्यापार व्यवसायमा लागेपछि मार्तडी जिउलो हराउँदै गएको बडीमालिका नगरपालिका–८ स्थानीय धनकला रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सयौँ रोपनीभन्दा बढी रहेको मार्तडी जिउलो पछिल्लो समय यहाँका स्थानीयले विस्तारै बिक्री गर्दै आएपछि अहिले जिउलो घरैघरले भरिभराउ हुँदै गएको छ ।” पछिल्लो समय मार्तडीमा बाजुराका नौ वटै पालिकाका बासिन्दाले जिउलोमा जमिन किन्दै घर लगाएर बसोबास गर्न थालेपछि जिउलो घरैघरले भरिभराउ भएको रावलले बताउनुभयो । 

सदरमुकाम मार्तडीमा पाइने विभिन्न सेवा, सुविधा तथा व्यापार व्यवसाय गर्नसमेत सहज भएपछि अन्य स्थानीय तहबाट समेत स्थानीय मार्तडीमा बसोबास गर्न थालेका हुन् । तल्लो क्षेत्रका स्थानीय अहिले डाब बजार, रिठा, बेलाल्मान्डौ, फालासैन ताँप्री सेरा, बल्दे, आँटीचौरलगायत विभिन्न स्थानीय बजारबाट दैनिक उपभोग्य सामग्री लिने गर्छन् । गौमुल, बुढीनन्दा, स्वामीकार्तिक, जग्गनाथ, हिमालीलगायतका स्थानीयको मुख्य बजार मार्तडी नै हो । यो क्षेत्रका स्थानीय तहमा स्थानीय बजार भए पनि सो बजारमा अहिले पनि सदरमुकाम मार्तडीबाटै नै दैनिक उपभोग्य सामान जाने गर्दछ । 

जिल्लाका अन्य स्थानीय तहबाट पनि अहिले सरकारी कामकाजका लागि मार्तडी नै जाने गर्छन् । यही सेवा सुविधाका कारण पनि यहाँका स्थानीयको बसोबास गर्ने ठाउँ मार्तडी जिउलो रोजाइमा पर्न थालेपछि पछिल्लो समय यहाँ घरैघरले भरिभराउ भएको हो । पहिला यहाँको छेउछाउमा मात्र केही सरकारी भवन र स्थानीयका घर मात्र थिए । जिउलो पूरै खाली थियो । त्यसमा यहाँका स्थानीय धान गहुँ खेती लगाउने गथ्र्ये । अहिले यहाँका स्थानीयले त्यो जिउलोलाई बिस्तारै अन्य पालिकादेखि आउनेलाई बिक्री गर्दै आएपछि जिउलो घरैघरले भरिँदै गएको रावलले बताउनुभयो । मार्तडी बजार क्षेत्रको बडीमालिका नगरपालिका–८ पाँच हजार र वडा नं. ९ मा दुई हजारभन्दा बढीको बसोबास रहेको छ । 

पहिला सदरमुकाम मार्तडीमा पनि सरकारी केही भवन मात्र थिए । अन्य ठाउँमा धानखेती लगाउने गरेका थियौँ । अहिले यहाँ बाहिरदेखि सदरमुकाम केन्द्रित हुनेको पनि धेरै भए र अन्य यहाँका स्थानीयको रोजगारी केही नभएकाले आफ्ना छोरा छोरीलाई सहरकेन्द्रित गर्न स्थानीयले जिउलो खेती लगाउन छोडेर बिक्री गर्दै आएको वडा नम्बर ८ का वडाध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो ।