मुसीकोट समाचारदाता
रुकुमपश्चिम, पुस ३० गते । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको भवन पुनर्निर्माण सुरु भएको छ । एउटा पक्की र एउटा प्रिफ्याब संरचनासहित दुई भवन निर्माण सुरु भएका हुन् ।
मुसीकोट नगरपालिका–१ स्थित प्रहरी कार्यालयको पुरानो भवन २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । भवनमा क्षति भएपछि कार्यालय सञ्चालन, सामग्री भण्डारण तथा आवासमा समस्या हुँदै आएको थियो । पक्की भवन निर्माण सुरु भएको १५ महिनाभित्र भवन हस्तान्तरण हुने गरेर ठेक्का सम्झौता भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच करोड ४२ लाख लगानीमा भवन निर्माणका लागि सम्झौता भएको छ । नेपाल सरकारले विनियोजन गरेको बजेटमार्फत ठेक्का आह्वान भएर भवन पुनर्निर्माण सुरु भएको हो । भवन निर्माणको ठेक्का एमपी कन्स्ट्रक्सनले पाएको छ । यसका साथै जिल्ला प्रहरी कार्यालयको प्रिफ्याब संरचनासहितको अर्को भवन पनि निर्माण सुरु भएको छ । नेपाल सरकारको समन्वयमा जापान, युएनडिपी, युएन–एचएबिआइटिएटीको सहयोगमा उक्त भवन निर्माण सुरु भएको हो । फिक्सिट इन्जिनियरिङ प्रालिले यो भवन निर्माणको जिम्मा पाएको छ । आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने यस भवनको लागत ३५ लाख ६२ हजार ११२ रुपियाँ रहेको छ ।
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा जीविकोपार्जन सुधार र विपत् उत्थानशील सुदृढीकरण परियोजना अन्तर्गत यो भवन निर्माण हुन थालेको हो । भूकम्पले भवन क्षति गरेपछि जिल्ला प्रहरी कार्यालय नै भौतिक पूर्वाधारको अभावमा रहँदै आएको छ । अहिले कार्यालयका सामग्री तथा ब्यारेक भाडाको घरमा राख्नु परेको बताइएको छ ।
नयाँ भवन निर्माण भएपछि पूर्वाधार अभावको समस्या हट्ने विश्वास रहेको डिएसपी विष्टले उल्लेख गर्नुभयो । जिल्ला प्रहरी कार्यालय अन्तर्गत विभिन्न स्थानमा रहेका प्रहरी चौकी भने भवन अभावमा सेवा प्रवाह गर्दै आएका छन् । कतै जीर्ण भवनमै जोखिम मोलेर कार्यालय सञ्चालन भइरहेका छन् भने कतै भाडाको घरमा सञ्चालन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।