केशव राज भट्ट
वाशुलिङ (बैतडी), पुस ३० गते । नेपाली सेनाले बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारोलाई पुनर्निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ ।
नेपाल एकीकरणकालीन इतिहास बोकेको उक्त चौतारो र त्यहाँ रहेको शिलालेखलाई व्यवस्थित गर्दै बैतडीस्थित श्रीबक्स गुल्मले संरक्षण तथा पुनर्निर्माण कार्य सम्पन्न गरेको हो ।
नेपाली सेनाको शीघ्र प्रभावी योजनाअन्तर्गत ऐतिहासिक महत्त्व बोकेको चौतारो पुनर्निर्माण गरिएको र सोही स्थानमा रहेको बामुनी आमा मन्दिर जाने बाटोसमेत निर्माण गरिएको श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले जानकारी दिनुभयो ।
नेपाल एकीकरणको क्रममा भारतको अल्मोडा नजिक अङ्ग्रेजसँगको लडाइँमा वीरगति प्राप्त गरेका हस्तिदल शाह र उनका छोरा नन्दुको काजक्रिया यही पिपलको रुखमुनि गरिएको शिलालेखमा उल्लेख छ ।
साके संवत् १७३७ मा वीरगति प्राप्त गरेपछि हस्तिदल शाहकी श्रीमती सति गएको र महाकाली नदीमा दाहसंस्कार गरिएपछि काजक्रिया यही स्थानमा गरिएको बताइन्छ ।
ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक महत्त्व बोकेको यस क्षेत्रमा कुल्लेककोट र सप्तदेवलजस्ता स्थलहरू पनि रहेका छन् । जीर्ण अवस्थामा रहेको चौतारो र बाटो पुनर्निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय उद्वब मार्कन्डले अब यहाँ गौरा पर्व, मेला तथा सार्वजनिक छलफल गर्न सहज हुने बताउनुभयो ।
पुनर्निर्माण गरिएको ऐतिहासिक पिपल चौतारो स्थानीयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।