• ३० पुस २०८२, बुधबार

सुरक्षा अवस्था बुझ्न गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्की सप्तरीमा

blog

गृहमन्त्री ओमप्रकाश अर्याल

देवराम यादव
सप्तरी पुस ३० गते ।
सप्तरीको सुरक्षा अवस्था र निर्वाचन वातावरण बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की मङ्गलबार राजविराज आइपुग्नु भएको छ ।

राजविराज आउनु अघि गृहमन्त्री अर्यालले सप्तरीको सखडास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा पूजाआजा तथा दर्शन गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय राजविराजमा जिल्लाको समग्र सुरक्षा अवस्था र निर्वाचन लक्षित तयारीबारे जानकारी लिनुभयो ।

सोही अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री अर्यालले मुलुकभर तथा राजनीतिक दलहरू चुनावमय बन्दै गएको बताउनुहुँदै आगामी फागुन २१ गते हुने निर्वाचनप्रति कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन एकै चरणमा हुने बताउनु हुँदै दुई चरणमा चुनाव हुने हल्ला निराधार रहेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले निर्वाचन सम्बन्धमा आम जनतासँग नियमित भेटघाट गरिरहेका बताउनुहुँदै सरोकारवाला सम्पूर्ण पक्षसँग समन्वयमा काम भइरहेको बताउनुभयो । उहाँले निर्वाचन आयोग, राजनीतिक दल, नयाँ पुस्ता र सरकार सबै मिलेर अगाडि बढ्नुको साथै निर्वाचनको वातावरण पनि बनिसकेको जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले राजनीतिक दलहरूको सक्रियता, जनस्तरको चासो र समग्र परिस्थितिले निर्वाचनको माहोल धेरै सुदृढ हुँदै गएको बताउनुभयो ।

यसै क्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षाब्यवस्था मजबुत बनाइएको जानकारी दिनुभयो । उहाँले सप्तरीसहित मुलुकभर कुनै पनि प्रकारको त्रासको अवस्था नरहेको दाबी गर्नुहुँदै शान्त, निष्पक्ष र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रहरी पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो ।