रौतहट, असार २९ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका अधिकांश विद्यालयका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । एक विद्यालय एक नर्सको अवधारणाअनुरूप नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयमा खटाइएका स्टाफ नर्सले दिएको जानकारीबमोजिम ती विद्यालयका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको हो ।
पालिकामा रहेको व्यावसायिक एवं अन्य सामुदायिक विद्यालयका विद्यार्थीमा पनि रुघाखोकी र ज्वरोको प्रकोप रहेको पाइएको छ । जनज्योति माध्यमिक विद्यालयमा कार्यरत स्टाफ नर्स निशा कोइरालाले विद्यालयमा दैनिक स्वास्थ्य समस्या लिएर आउने विद्यार्थीमध्ये अधिकांश रुघाखोकी र ज्वरोका बिरामी रहेको बताउनुभयो ।
“दैनिक पाँच-छ जना रुघाखोकी र ज्वरोका बिरामी विद्यार्थी स्वास्थ्य परीक्षण गराउन आउने गरेका छन्,” उहाँले भन्नुभयो, “रुघाखोकी एकअर्कामा सर्ने रोग भएकाले त्यस्ता बिरामीलाई विद्यालयमा उपलब्ध सामान्य औषधि दिएर घर पठाउने गरेका छौँ ।”
कडा घाम, एकछिनमा बादल र एकछिनमा झरी हुने अहिलेकाले प्रतिकूल मौसमले भाइरल ज्वरोको प्रकोप बढेको सिभिल अस्पताल चन्द्रपुर–४ का डाक्टर रामकिशोर साह बताउनुहुन्छ । उहाँका अनुसार अस्पतालमा १० जना स्वास्थ्य समस्या लिएर आउने बिरामीमध्ये आठ जनामा भाइरल ज्वरो पाइएको छ । स्कुल पढ्ने उमेरका बालबालिकामा पनि भाइरल ज्वरोको प्रकोप बढ्दो छ । भाइरल ज्वरो एक अर्कामा सर्ने भएकाले ज्वरो आएका विद्यार्थी निको नभएसम्म विद्यालय जान नहुने उहाँको धारणा छ ।
यस्तै ओम, सुबलाल, जुडिबेला, सिन्दुरेघारीलगायतका सामुदायिक माध्यमिक विद्यालयमा पनि दैनिक पाँच-छ जना रुघा खोकी र ज्वरोका विद्यार्थी स्वास्थ्य परीक्षण गराउन आउने गरेको सम्बन्धित विद्यालयका नर्सले जानकारी दिनुभएको छ ।
यता मुनलाइट, नमुना, राइजिङ नेपाल, माउन्ट एभरेस्टलगायतका व्यावसायिक विद्यालयमा पनि रुघाखोकी र ज्वरोका विद्यार्थी बढ्दो रहेको प्याब्सन रौतहटका एक सदस्यले जानकारी दिनुभयो । चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डलले भाइरल ज्वरोका बिरामी विद्यार्थी बढ्दै गए विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।