काठमाडौँ, पुस २६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ। लामो समयसम्म निर्वाचनका विषयमा विभिन्न खाले दृष्टिकोण सार्वजनिक भएका बेला पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचका राजनीतिक सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराउन सफल भएको उहाँको भनाइ छ।
“मेयर शाह र सभापति लामिछानेको पृष्ठभूमि, स्वभाव, विचार र राजनीतिक यात्रा फरक थियो, तर दुवै जना बैकल्पिक शक्तिका रुपमा उदाएकाले उहाँहरुको बीचको राजनीतिक सहयात्राले मुलुकलाई निर्वाचनमा धकलेको हो भन्ने लाग्छ”, रासससँगको कुराकानीमा शाहले भन्नुभयो।
दुवै नेताबीच भएका कैयौँ भेटमा दुवै पक्षको मनस्थिति बुझ्ने, सन्देश आदानप्रदान गर्ने र भेटवार्ताको वातावरण बनाउन आफूलगायतले पहल गरेको उहाँको भनाइ छ। उक्त सहमति राजनीतिक गणितका आधारमा मात्र नभइ व्यक्तिगत विश्वास र सम्बन्धले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो।
“कतिपयले उक्त सहमति अदृश्य शक्तिका कारण पनि भने, तर त्यहाँ हामी केही साथीहरु मात्रै थियौँ,” उहाँले भन्नुभयो, “त्यो सहमतिको यात्रा सहज थिएन। सभापति लामिछानेको जेल बसाइँ, अदालती प्रक्रिया, मेयर बालेनको पारिवारिक शोक, धेरै अवरोध आए। अन्ततः दुवैबीच नयाँ राजनीतिक समीकरणको आधार तयार भयो।”
उहाँले यो सहकार्य चुनावी रणनीति मात्रै नभइ दीर्घकालीन राजनीतिक परिवर्तनका लागि भएको बताउनुहुन्छ। सात/आठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासप्रतिको समान चाहनाका कारण दीर्घकालीन सहकार्यका लागि सहमति जुटेको उहाँको बुझाइ छ।
वैकल्पिक शक्तिहरू छरिएर हैन एकजुट हुनुपर्ने आवश्यकता बोध भएपछि आफूहरुले पहल थालेको शाहले बताउनुभयो। रास्वपाले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा वैकल्पिक शक्तिहरू एक ठाँउमा जुटाउने क्रमलाई जारी राखेको उहाँको भनाइ छ। “छरिएर रहेका वैकल्पिक शक्तिहरु एउटै प्लेटफर्म, एउटै मञ्चमा उभ्याउनु जरुरी थियो, त्यसका लागि उपयुक्त मञ्च रास्वपा नै थियो”, उहाँले भन्नुभयो।