• २७ पुस २०८२, आइतबार

ट्रेड युनियन कसैको बक्सिस होइन : न्यौपाने

blog

सम्बोधन गर्दै नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहाल । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस २६ गते। नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रिय अध्यक्ष भवानी न्यौपाने दाहालले ट्रेड युनियन कसैको बक्सिस नभएको बताउनु भएको छ । उहाँले पार्टीको तर्फबाट लोकतन्त्र सफल नभएपछि जागिर धरापमा राकेर सडकमा आएर आन्दोलन सफल बनाएकाले प्राप्त ट्रेड युनियन भएको बताउनु भयो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुल्मीको १७ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै न्यौपानेले आन्दोलन र ट्रेड युनियनको लागि देशभरका ५०० प्लस कर्मचारीको जागिर गएकाले लोकतन्त्र र ट्रेड युनियनको अन्योन्याश्रीत सम्बन्ध रहेको बताउनु भयो । 

उहाँले राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था देशभरका सहकारीमध्ये शतप्रतिशत सुरक्षित रहेको दाबी गर्नु भयो । बाटो खर्च दिएपछि सहकारीको साधारणसभाको उपस्थित पुग्न थालेको अवस्था औल्याउँदै लाखौं डुब्दा प्रश्न नगर्ने बाटो खर्च पाएपछि सभा आउने प्रवृत्तिको अन्त्य गर्नु पर्नेमा न्यौपानेले जोड दिनु भयो ।

१८ वर्ष अघि २०६५ सालमा जिल्लाका विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई लक्षित ३५ जना संस्थापक सदस्यबाट सहकारीको स्थापना गरिएको थियो । तत्कालीन अवस्थामा मासिक २०० रुपियाँबाट बचत गरी सुरुवात गरिएको यस सहकारी संस्थामा अहिले २१३ जना बचतकर्ता रहेको सहकारीका अध्यक्ष भुवन पन्थीले जानकारी दिनु भयो । 

अहिले सहकारीमा मासिक रूपमा ५०० रुपसय रुपियाँदेखि अधिकतम तीन हजार रुपियाँसम्म मासिक रूपमा बचत भइरहेको छ । संस्थाको जम्मा पूँजी दुई करोड १३ लाख भन्दा बढी रहेकोमा यस सहकारीले ८७ लाख ३७ हजार ऋण लगानी गरेको सहकारीका सचिव बोम अर्यालले जानकारी दिनु भयो। कार्यक्रमकै अवसरमा उत्कृष्ट निजामती कर्मचारी सङ्गठनको छत्रकोट र रुरु कमिटीलाई सम्मान गरिएको अर्यालले बताउनु भयो।

कार्यक्रममा निजामती कर्मचारी सङ्गठन गुल्मीका अध्यक्ष लालमणि भण्डारीले जिल्लाको गतिविधि सार्वजनिक गर्नु भएको थियो । साथै निजामती कर्मचारी सङ्गठनका केन्द्रिय उपमहासचिव बामदेब ओली, लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद आचार्य, महासचिव भीमप्रसाद खनाल लगायतले सम्बोधन गर्नु भएको थियो ।