काठमाडौँ, पुस २६ गते। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताले पार्टी एकताको पक्षमा वकालत गर्नुभएको छ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि विभाजनको डिलमा पुगेको कांग्रेसलाई फुटबाट जोगाउने उद्देश्यका साथ शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता भण्डारीलगायतका नेताहरुले पार्टी एकताको पक्षमा केन्द्रित हुन संस्थापन पक्ष र इतर पक्ष दुवैलाई दबाब दिनुभएको हो।
काँग्रेसलाई मुलुकको नेतृत्व गर्ने शक्ति बनाउने गरी फुट हुन नदिनका लागि आफूहरु लागि परेको नेता भण्डारीले बताउनुभयो। उहाँले भोलीबाट सुरु हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रुपमा लिएर पार्टी सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गर्नुभयो। नेताहरुलाई एकतावद्ध हुनका लागि आग्रह गर्न आफूहरु लागि परेको बताउनु भयो।
नेता भण्डारीले भन्नुभयो, ‘अहिले हामी पार्टी मिलाउने पक्षमा छौँ। हामी पार्टीलाई फुट्न नदिने कित्तामा छौँ। विशेष महाधिवेशनमा पार्टी सभापतिसहितका नेताहरु सहभागी हुनुपर्छ। मुलुकलाई संकटबाट जोगाउन पनि काँग्रेसलाई फुटबाट जोगाउनु पर्छ।’
नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सभापति देउवालाई सम्मानजनकरुपमा बिदाइ गर्न आफूहरुले चाहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरु पनि सहभागी हुनुहुनेछ। पार्टी सभापति देउवाको सम्मानजनक बिदाइको पक्षमा छौं। पार्टी एकताको पक्षमा हामी छौं।’
नेता शर्माले डा. शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको बताउनुभयो।