• १८ चैत २०८२, बुधबार

गुलर्या माघ महोत्सवको तयारी पूरा

blog

महोत्सवका लागि ढिक्री बनाउँदै थारू महिला । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, पुस २६ गते । गुलर्या सांस्कृतिक महोत्सव २०८२ (थारू सम्बत २६४९) को तयारी पूरा भएको छ । गुलर्या टोल विकास संस्थाको आयोजनामा तथा सौँरा बगालको सह–आयोजनामा पुस २७ गते घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद नेत्रलाल स्मृति पार्कमा आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ।

“एकता, विकास र आत्मनिर्भरताका लागि सांस्कृतिक अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको एक दिने महोत्सव थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक अशोककुमार चौधरीले जानकारी दिनु भयो ।

महोत्सवमा तीन दर्जनभन्दा बढी महोत्या नाच, ढुम्रु नाचलगायत विविध सांस्कृतिक प्रस्तुति रहने छन् । थारू परिकारको प्रवर्धनका लागि करिब तीन हजार सहभागीलाई निःशुल्क ढिक्री र आलुको अचार खुवाउने तयारी रहेको संयोजक चौधरीले बताउनु भयो । महोत्सव स्थलमा थारू समुदायको मौलिक भेषभूषा र पहिचान झल्काउने हस्तकलाका सामग्री डेल्या, गुन्द्री, ढक्या, ढक्ली, ड्वाला, भौका, भौकी, बेर्रा लगायत प्रदर्शनी तथा बिक्रीका लागि राखिने छ । त्यस्तै, थारू परिकारहरू घोंघी, माछा, गङ्गटा, ढिक्री, अनडीको रोटी, अनडीको भात, अनडीको झोल, आलुको अचार, सिध्रा माछा लगायतको सामग्री बिक्री गरिने आयोजकले जनाएको छ।

यसैगरी महोत्सवमा थारू इतिहास, भाषा, साहित्य र संस्कृतिसम्बन्धी पुस्तकहरूको प्रदर्शनी तथा बिक्रीको पनि व्यवस्था गरिएको छ । महोत्सवको अवसरमा थारू भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गरेका अगुवा तथा संस्कृतिविद्हरूलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता चौधरीले गर्नु हुने आयोजक संस्थाले जनाएको छ । उद्घाटन कार्यक्रममा स्थानीय तहका थारू जनप्रतिनिधि तथा थारू समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहने छ।