• २७ पुस २०८२, आइतबार

अचार बनाउने सीप पाएर उत्साहित महिला

blog

इस्मा गाउँपालिका –१ र २ का महिलाले बनाएको अचारको प्रदर्शनी । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), पुस २६ गते । गुल्मीको इस्मा गाउँपालिका–१ र २ का महिला अचार बनाउने सीप पाएपछि उत्साहित भएका छन् । स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य उत्पादनबाट आचार बनाएर व्यवसायीकरण गर्नसके राम्रो आम्दानी हुने रहेछ भन्ने कुरामा आफूहरूले धेरै कुरा सिकेको इस्मा गाउँपालिका–१ की टीका कुँवरले बताउनु भयो । 

उहाँले आफूले लिएका धेरै तालिमहरूमध्ये अहिलेको अचार बनाउने तालिम घरयासी प्रयोजनदेखि व्यावसायिक उद्देश्यका लागि पनि निकै उपलब्धिमूलक रहेको बताउनु भयो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिका वडा १ को समन्वयमा महिलाको आर्थिक सशक्तीकरण गरेर आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको थियो।

तालिममा वडा नम्बर–१ र २ का २२ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा स्थानीयस्तरमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय र स्वादिलो अचार उत्पादन गर्ने विधि, सरसफाइ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ । 

महिलाहरूले तयार पारेका विभिन्न प्रकारका अचारहरूको प्रदर्शनीको अवलोकन गर्दै इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवरले महिलालाई सीपमूलक तालिमले आत्मनिर्भर बन्न ठुलो टेवा पुग्ने बताउँदै कार्यक्रम निरन्तरतामा जोड दिनु भयो । इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीले जीवनमा सीप सबैभन्दा ठुलो कुरा भएकाले तालिमको उपयोग भए मात्र राज्यको लगानीको सदुपयोग र अर्थोपार्जनमा टेवा पुग्ने बताउनु भयो ।

इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले आर्थिक सामाजिक विकासका लागि महिलाको आर्थिक सशक्तीकरण पहिलो आधार भएकाले सीपबिना आर्थिक समृद्धि असम्भव रहेको बताउनु भयो । उहाँले धेरैले तालिमलाई व्यवसायका दृष्टिकोणले नहेरेका कारण सरकारी रकमको दुरुपयोग हुने अवस्था समेत रहेकाले सवै महिलालाई अर्थोपार्जनमा जोडिन आग्रह गर्नु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले महिला, युवा, उद्यमी, व्यवसायी, कृषक सबैलाई आवश्यक पर्ने तालिमहरू सबै स्थानीय तहहरूमा सञ्चालन भएकाले व्यावसायिक दक्षता तथा सीप विकासमा आफूलाई सबल बनाउन महिलालाई आग्रह गर्नु भयो।