• २७ पुस २०८२, आइतबार

निर्वाचन प्रहरीमा लमजुङका युवायुवतीको आकर्षण

blog

निर्वाचन प्रहरीमा आवेदन दिँदै युवायुवतीहरू । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, पुस २६ गते ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि भर्ना गर्न लागिएका निर्वाचन प्रहरीमा लमजुङका युवा युवतीको आकर्षण देखिएको छ । लमजुङमा एक हजार ३०६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन खुलेको पहिलो दिन शुक्रबार नै ७९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनु भयो ।

दरखास्त दिने उम्मेदवारले फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । यस्तै नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाका बेला कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने शर्त तोकिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी तथा पूर्व वन रक्षक, साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा विभिन्न पदमा भर्नाको लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेश पत्रका आधारमा प्राथमिकता दिइएको छ ।

यस्तै यसअघि प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्तिलाई समेत प्राथमिकतामा राखिएको छ । आवेदकको प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुने जनाइएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइने सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिनु भयो ।

नियुक्ति पाएका निर्वाचन प्रहरीले ४० दिन वा सरकारले तोकेको अवधिसम्म काम गर्नु पर्ने छ । पारिश्रमिकतर्फ प्रहरी जवानको सुरु तलब स्केल अनुसार प्रतिदिन आठ सय ६९ रुपियाँ र ४० दिनका लागि खाद्यान्न बापतको रकम, निर्वाचन स्थलसम्म आउजाउका लागि तोकिएको यात्रा खर्च तथा खाजा खर्च समेत उपलब्ध गराइने छ । एक निर्वाचन क्षेत्र रहेको लमजुङमा १३० मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन्, जहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै निर्वाचन प्रहरीले सुरक्षा दिने छन् ।