राजन रावत
हुम्ला, पुस २६ गते । यस वर्षको माध्यामिक शिक्षा परिक्षाका (एसइई) लागि लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको छ । खार्पुनाथ गाउँपालिका–५ को ६० प्रतिशत लगानीमा उक्त तयारी कक्षा सञ्चालन गरिएको हो ।
एसइई दिने विद्यार्थीहरुका लागि आर्थिक रुपमा सहयोग पुर्याउन र पढाई प्रति प्रोत्साहित गर्न लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भरतजंग शाहीले बताउनुभयो ।
उक्त वडाका मान्धारा माविमा अध्ययनरत विद्यार्थीहरुका लागि एसइई तयारी कक्षा सञ्चालन गरिएको हो । एसइईको नतिजा गुणस्तरीय र तयारी कक्षामा सहभागी विद्यार्थीहरुले सतप्रतिशत नतिजा ल्याउने उद्देश्यले सो कक्षा सञ्चालनमा ल्याइएको हो । कार्य स सञ्चालनमा वडाको पनि आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।
अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । दुई महिनासम्म सञ्चालन हुने कक्षाका लागि प्रतिकक्षा एक हजार पाँच सय रुपियाँ लाग्ने छ । एक जना विद्यार्थीले कक्षामा बस्नका लागि चार हजार पाँच सय रुपियाँ तिर्नुपर्ने छ ।
त्यसको ६० प्रतिशत वडा कार्यालय र ४० प्रतिशतसम्बन्धी विद्यार्थीले व्यहोर्नुपर्ने छ । गाउँपालिका कक्षामा डिजिटल बोर्डबाट कक्षाहरु सञ्चालन गरिएका छन् । दुई जना शिक्षक रहेको यस कक्षामा १७ जना विद्यार्थीको सहभागिता रहेको छ ।