• २७ पुस २०८२, आइतबार

दुई हजारले पाए निःशुल्क न्यानो लुगा

blog

गरिब विद्यार्थीलाई निःशुल्क न्यानो लुगा वितरण गरिँदै । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, पुस २६ गते ।
‘हुनेले दिने, नहुँनेले लैजाने’ अभियान सुरु भएपछि बैतडीका दुई हजारभन्दा बढी गरिब विपन्नले निःशुल्क रुपमा न्यानो लुगा पाएका छन् । यी मध्ये ११ वटा विद्यालयका ५६० जना विद्यार्थीले न्यानो लुगा, कम्बल र शैक्षिक सामग्रीसमेत पाएका छन् ।

बैतडीका युवा महेशदत्त भट्टको अगुवाइमा ‘हुनेले दिने, नहुँनेले लैजाने’ अभियानअन्तर्गत दुई ठाउँमा कपडा बैंक स्थापना भएको छ । जिल्ला सदरमुकाम शाहीलेक र मेलौली नगरपालिकामा स्थापना भएको कपडा बैंकबाट जिल्लाका गरिब, विपन्न र टुहुरा बालबालिकाले निःशुल्क रुपमा न्यानो लुगा पाउन थालेका छन् । यो अभियानबाट एकल महिला र अनाथ बालबालिका र हलिया समुदायका व्यक्ति बढी लाभान्वित भएका छन् ।

हुनेले दिने नहुँनेले लैजाने अभियानमा अहिलेसम्म एक सय जनाले सहयोग गरेका छन् । यो वर्षको हिउँदमा मात्रै करिब तीन सय जनाले न्यानो लुगा, कम्बल, विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री पाएको अभियन्ता भट्टले बताउनुभयो ।

गत वर्षदेखि सुरु भएको यो अभियानलाई देश, विदेशमा बस्ने मनकारी नेपालीले सहयोग गर्दै आएका छन् । ‘महावीर पुन’ आत्मकथा नामको पुस्तक बेच्न गत वर्ष बैतडी पुग्नु भएका वर्तमान शिक्षामन्त्री महावीर पुनलेसमेत अभियानलाई सहयोग गरेको भट्टले बताउनुभयो । पुनले गत वर्ष विभिन्न कार्यक्रममा पाएका दोसल्लाहरु कपडा बैंकलाई प्रदान गरेको उहाँले बताउनुभयो । पुनले प्रदान गर्नु भएका दोसल्ला विपन्न ज्येष्ठ नागरिकलाई सलको रुपमा ओढ्न प्रयोग गरेका छन् ।     

गरिब विपन्नले कपडा बैंकमै पुगेर न्यानो लुगा लैजाने गरेका छन् भने विद्यार्थीलाई विद्यालयमै पुगेर लुगा वितरण गर्दै आएको कपडा बैंकका परिचालक नारद भट्टले बताउनुभयो । दाताहरुबाट नगद रकमको सट्टा लुगा किनेरै दान दिन आग्रह गर्ने गरिएको छ ।

अभियानलाई विभिन्न व्यक्तिले जन्मदिन मनाउने खर्चबाट कपडा किनेर अभियानलाई सहयोग गर्दै आएका छन् । हुनेले दिन थालेपछि  दुःख, अभाव र गरिबी भोगीरहेकालाई ठुलो रहत पुगेको छ । सहयोग गर्ने दाताको नामावली अद्यावधिक गरेर माघ १ गते कपडा बैंक स्थापनाको दिन पारेर सार्वजनिक गरिने बताइएको छ ।