अर्जुन काफ्ले
स्याङ्जा, पुस २६ गते । जग्गा विवादका कारण रोकिएको स्याङ्जाको हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ ।
जग्गा विवादले निर्माण रोकिएकोमा समस्या समाधान भएसँगै पुनः अगाडि बढाइएको हो । २०८२ वैशाख ४ गते भएको सम्झौताअनुसार उक्त भवन निर्माणको जिम्मा प्रजिल कन्स्ट्रक्सनले लिएको छ ।
तीन करोड ७३ लाख ४५ हजार ८६७ रुपियाँ २१ पैसाको लागतमा निर्माण हुने यो भवन गाउँपालिकाले उपलब्ध गराएको ड्रइङअनुसार करिब १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
तीन हजार छ सय स्क्वाइर फिटमा बन्ने भनव साढे तीन तलाको हुने इन्जिनियर मिलन तिमिल्सिनाले बताउनुभयो । भवनमा सेमिनार, मिनी सेमिनार हलसहितको भवन हुने छ ।
बिचमा उत्पन्न भएको जग्गा विवादका कारण करिब पाँच महिना काम रोकिए पनि अब कुनै अवरोध नआए तोकिएकै समयभित्र काम सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको जनाएको छ ।
लामो समयदेखि अलपत्र परेको प्रशासकीय भवनको निर्माण सुरु भएपछि स्थानीय बासिन्दा खुसी देखिएका छन् ।
सङ्घीयतासँगै यहाँका ११ पालिकामध्ये पाँचवटा गाउँपालिका र तीन नगरपालिकाले नयाँ भवन बनाएकोमा पुतलीबजार र वालिङ नगरपालिका भने पुरानै आफ्नो सुविधा सम्पन्न भवनबाट काम गर्दै आएका छन् । अब हरिनासको नयाँ भवन बनेसँगै जिल्लाका सबै पालिकाले नयाँ भवन पाउने छन् ।
साँघुरो र अव्यवस्थित भवनबाट सेवा दिँदै आएको यस गाउँपालिकाले नयाँ भवन निर्माणपछि सेवा प्रवाह सहज, सरल र व्यवस्थित हुने विश्वास लिएको छ ।
गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले प्रशासकीय भवनभन्दा स्वास्थ्य सेवा प्राथमिक आवश्यकतामा पर्ने भन्दै पुरानै भवनबाट सेवा दिने नीति लिँदै आउनुभएको थियो ।
यसैका कारण प्रशासकीय भवनका लागि आएको बजेट सङ्घीय सरकारलाई फिर्ता गरेर मग्याम चिसापानीमा सुविधा सम्पन्न अस्पताल निर्माण थालिएको थियो । अस्पतालको कामले तीव्रता पाएसँगै प्रशासकीय भवनको ठेक्का प्रक्रिया अघि बढाइएको हो ।
हरिनास गाउँपालिकालाई समृद्ध र सेवामैत्री बनाउने अभियानअन्तर्गत नयाँ प्रशासकीय भवन निर्माण अघि बढाइएको अध्यक्ष मानन्धरले बताउनुभयो ।