अमरराज नहर्की
तनहुँ, पुस २६ गते । नेपाली भाषाका शिखर पुरुष तथा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो रम्घालाई विश्वव्यापी साहित्यिक पर्यटकीय गन्तव्य बनाउने अभियानले मूर्त रूप लिन थालेको छ । ‘भानु साहित्य उद्यान’ को विस्तृत परियोजना प्रतिवेदनको गुरुयोजना स्वीकृत गरेसँगै यस ऐतिहासिक क्षेत्रको मुहार फेरिने आशा जगाएको छ ।
करिब एक अर्ब रुपियाँ लागत अनुमान गरिएको यस गुरुयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपियाँ विनियोजन भइसकेको भानु नगरपालिकाले जनाएको छ । सो बजेटबाट भानुको जन्मथलो शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटर मार्ग स्तरोन्नति (कालोपत्रे) गरिनेछ । उद्यानको मुख्य आकर्षणका रूपमा आदिकवि भानुभक्तको ५४ फिट अग्लो विशाल प्रतिमा निर्माण गरिनेछ, जसले रम्घाको पहिचानलाई थप उचाइ दिनेछ ।
भानु साहित्य उद्यान निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चासो र पहल लिँदै आउनुभएको छ । गुरुयोजना निर्माण, जग्गा अधिकरण र बजेट व्यवस्थापनका लागि भएका निरन्तरका छलफलपछि गत आर्थिक वर्षमा रम्घा डाँडामा रिटेनिङ वाल निर्माण र जग्गा अधिकरणको कार्य सम्पन्न भइसकेको छ । हालसम्म यस आयोजनाका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले भन्नुभयो, “हामी यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन लागिपरेका छौँ । अबको केही दिनमा राष्ट्रपतिज्यू मार्फत अर्थ मन्त्रालयमा यसलाई वहुवर्षीय योजनाका रूपमा सिफारिस गरिनेछ ।’’ भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी आम नेपालीलाई एउटै भाषिक सूत्रमा बाँधेर गरेको योगदानलाई यो उद्यानले सम्मान गर्ने विश्वास लिइएको छ ।
भानु साहित्य उद्यान विकास समितिका महासचिव डा. ब्रतराज आचार्यले भन्नुभयो, “हाम्रो दशकौँ अघिको सपना बल्ल साकार हुने क्रममा छ । यो उद्यान केवल भौतिक संरचना मात्र नभई नेपाली भाषा र साहित्यको तीर्थस्थल बन्नेछ। यसले नेपालको साहित्यिक पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गाको काम गर्नेछ ।’’ आदिकवि भानुभक्तको जन्मथलोलाई ओझेलबाट बाहिर ल्याउन र नेपाली भाषाको उद्गम थलोको गौरव जोगाउन यो गुरुयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने आचार्य बताउनुहुन्छ ।