रामकृष्ण बोहरा
बागलुङ, पुस २६ गते । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २२ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेको छ । शुक्रबारदेखि सुरु भएको नगरसभाको १८ औं अधिवेसनमा नगर उपप्रमुख राजु खड्काले आर्थिक वर्ष २०८२/०८३ को पुस २१ गतेसम्म २९ करोड ४० लाख ९८ हजार ८ सय खर्च भएको जानकारी दिनुभयो ।
नगरउपप्रमुख खड्काका अनुसार, चालु आर्थिक वर्षको ६ महिनामा चालु खर्चतर्फ ८४ करोड, ४१ लाख ७ हजार ८ सय ३० रुपिया विनियोजन गरिएकोमा पुस २१ गतेसम्म २२ करोड, ९५ लाख ३६ हजार ९ सय ८९ रुपियाँ खर्च भएको छ ।
पुँजीगततर्फ ४४ करोड, २३ लाख ५२ हजार २ सय ४० रुपियाँ विनियोजन गरिएकोमा सोही अवधिमा ६ करोड, ४५ लाख ६१ हजार ८ सय २२ रुपियाँ मात्र खर्च भएको छ । वित्तिय व्यवस्थातर्फ २ करोड, ३० लाख ९८ हजार विनियोजन गरिएकोमा हालसम्म खर्च भने हुन नसकेको उपप्रमुख खड्काले जानकारी दिनुभयो ।
नगरसभामा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले निर्वाचित भएर आएको आफ्नो टिमले गरेका उपलब्धीको समीक्षात्मक प्रस्तुती राख्नुभयो । श्रेष्ठले नगरपालिकाले गरेका नीतिगत उपलब्धी, भौतिक उपलब्धी, सामाजिक उपलब्धी, आर्थिक उपलब्धीसहित चालु आर्थिक वर्षका १९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले अगाडि सारेका नीति तथा योजना र कार्यक्रमलाई सफल पार्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै नगरसभाको १७ औ अधिवेसनबाट पारित तथा स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्व्यनमा लागिपरेको श्रेष्ठले बताउनुभयो ।