देवराम यादव
सप्तरी, पुस २६ गते । सप्तरीको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कनको पहिलो चरणको काम सकिसकिए पछि माघको दोस्रो सातासम्म दोस्रो चरणको काम पनि सकिने लक्ष्य राखिएको बताइएको छ । प्रतिष्ठानका पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. पशुपति चौधरीले भौतिक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य भएकाले सो प्रकृयामा रहेको बताउनुहुन्छ । उहाँले यस प्रकृयाअन्तर्गत पहिलो चरणको काम सकिएकाले अब दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो ।
अध्यक्ष डा. चौधरीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनको पहिलो चरणअन्तर्गत भौतिक निर्माण हुने ठाउँमा वन, जङ्गल रुखबिरुवा छ कि छैन जस्ता मूल्याङ्कन भइसकेको बताउनुभयो । उहाँले अब दोस्रो चरणमा भौतिक निर्माणको कारण गाउँ, वस्तीमा कस्तो इफेक्ट पार्छ, फोहोर मैला कसरी व्यवस्थापन हुन्छ ? जस्ता मूल्याङ्कन हुने बताउनुहुदै यसका लागी प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले सूचना जारी गरिसकेको जानकारी दिनुभयो ।
यो प्रकृया टुँगिए लगत्तै प्रतिष्ठान निर्माणका लागि टेण्डर प्रकृयामा जाने अध्यक्ष डा. चौधरीले बताउनुभयो । यस वर्ष तत्काल प्रतिष्ठान निर्माणका लागि १६ करोड बजेटबाट निर्माणका काम सञ्चालन गरिने बताउनुभयो ।
२०७५ सालमा मन्त्रीपरिषद् बैठकले राजविराज नगरपालिका वडा नम्बर १० बिरौलमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसपछि २०७८ साल असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरेका गर्नुभएको थियो । प्रतिष्ठान निर्माणका लागि नेपाल सरकारबाट ६१ बिघा ६ कठ्ठा जग्गा ३० वर्षका लागि लिजमा उपलब्ध गराउने निर्णय समेत भइसकेको छ ।