स्कुले जीवनको उत्सुकतामा आँधीखोलाको मुहान कहाँ होला भन्ने भइरहन्थ्यो । पर्वत र स्याङ्जाको सिमाना कार्कीनेटाको पूर्वतिरको पानीढलोबाट बग्ने आँधीखोला मूलतः स्याङ्जा जिल्लालाई बिचमा विभाजन गर्दै अन्य खोलासँग मिसिएर तल तल बग्दै कालीगण्डकीमा गएर मिल्छ ।
रङ्गेठाँटीको स्कुल त्यसताकाको त्यो क्षेत्रको एक मात्र हाइस्कुल प्रद्युम्न पनेरू माध्यमिक विद्यालय थियो । अहिले यो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ मा पर्छ । यो विद्यालय स्याङ्जा जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो । त्यो भेगमा जन्मेर आफ्नो बाल्यकाल बिताएका र शिक्षा आर्जन गरेका हरकोही विद्यार्थीलाई आँधीखोला तथा रङ्गेठाँटीसँग जोडिएका धेरै मिठा याद अवश्य आउँछन् होला, मलाई जस्तै ।
मेरो जन्मगाउँ निबुवाबोटबाट रङ्गेठाँटी हिँडेर पुग्न लगभग ४५ मिनेट लाग्दछ । त्यसबेला माथिल्ला कक्षा पढ्न रङ्गेठाँटी जानु पथ्र्यो । ७ कक्षादेखि माथि पढ्ने गाउँका सबै केटाकेटी भेला भएर रङ्गेठाँटी पढ्न जान्थ्यौँ ।
वरपर हरियाली डाँडाले घेरिएका फाँटबिचमा बगिरहेको कञ्चन आँधीखोलाको काखमा रहेको रङ्गेठाँटीको यो स्कुल २००८ सालमा नै स्थापना भएको थियो । समाजसेवी पण्डित प्रद्युम्न पनेरूले त्यहाँ सुन्दर कालिगडीयुक्त विशाल पौवा निर्माण गर्नुभएको रहेछ । पछि उहाँका सन्ततिले सो पौवालाई केही पुनर्निर्माण गरेर तथा विद्यालयका कक्षाकोठाका रूपमा प्रयोग गरी सञ्चालन गरिएको यो स्कुललाई प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका नामले चिनिन्छ । त्यो समयमा आफ्नो निजी सम्पत्ति सार्वजनिक सेवामा यसरी समर्पित र सदुपयोग गरिएको यो नमुना कार्य स्तुत्य छ ।
निबुवाबोटबाट रङ्गेठाँटी पढ्न जाने लामसेराको शमीको रुखमुनि भेला भएर सँगसँगै झर्ने गथ्र्यौ । साथीहरूसँगै हिँड्दा बाटो अति रमाइलो लाग्थ्यो । लामसेराको प्राथमिक विद्यालय घरबाट पाँच÷सात मिनेटमै हिँडेर पुगिन्थ्यो तर रङ्गेठाँटी अलिक टाढा थियो । लामसेराबाट विद्यालय जाने बाटामा चौतारी थिए । केही तेर्सो बाटो कतै उकालीओरालीमा ढुङ्गाका खट्करी हुन्थे । बाटामा पर्ने चिहानडाँडो, कुतकुतेको चौतारी, कान्ला, बगालेखोला, स्यानाखोला, काल्चेखोला र सो ठाउँमा रहेको प्रसिद्ध विशाल शमीको चौतारी, थाराफाँटका खेतका आली हुँदै आँधीखोला तरेपछि पुगिन्थ्यो प्रद्युम्न पनेरू माध्यमिक विद्यालय, रङ्गेठाँटी ।
बगालेखोला वरपर अलि कोप्चेरो ठाउँमा भएकाले कहिलेकाहीँ एक्लै हिँड्नुपर्दा डर लाग्थ्यो । यो खोला तरेपछि खेत सुरु हुन्थ्यो । लप्सी फल्ने मौसममा त्यहाँ रहेको एउटा ठुलो लप्सीको बोट फेदमा पाकेका लप्सी भुइँभरि झरेका हुन्थे । हामी केटाकेटीलाई टिपेर खान के बेर लाग्थ्यो र ? अलि पर थियो बाटामाथि ठुलो रुख । दाइदिदीहरू सौरको रुख भन्नुहुन्थ्यो । त्यसको बोक्रा मिठो हुन्थ्यो । थाराफाँटको पुछारतिर अलिकति अग्लो ठाउँमा काल्चेको चौपारीमा बसेर तल हेर्दा लाग्थ्यो फराकिलो थाराफाँटले आफ्नो आँचल फिँजाएर त्यहाँ भएर हिँड्ने सबैलाई स्वागत गरिरहेको छ । अविरल निरन्तर बगेको आँधीखोला अति सुन्दर देखिन्थ्यो । नजिकै एउटा ठाँटी पनि थियो– ठुलो पानी पर्दा ओत बस्थ्यौँ । काल्चेखोलामा बडेमानका ढुङ्गा थिए । माथितिर रङ्गेटारी पथ्र्यो, तलतिर थाराफाँट । यो ठुलो फाँटको घरी छेउबाट, घरी बिचबाट त घरी कुनाबाट गोरेटो बाटो थियो । मौसम मौसममा विभिन्न अन्नबाली रोपेदेखि फलेसम्म उम्रेका, बढेका, पसाएका, फल लागेर र पाकेसम्मका दृश्यले केही सिके जस्तो लाग्थ्यो ।
सिल्टिम, बोडी, सिमी तथा दुधे मकै कहिलेकाहीँ टिपेर खान हामीलाई कुनै बन्देज थिएन ।
थाराफाँटमा माथिपट्टि यसो उच्च ठाउँमा एउटा अर्को ठाँटी थियो । पहिला ठाउँ ठाउँमा ठाँटी हुन्थे । बटुवालाई घाम पानी छल्न, थकाइ मार्न, बास बस्न केही सुविधा मिल्थ्यो । कहिलेकाहीँ गर्मी मौसममा विद्यालयमा बिहानी कक्षा चल्थ्यो । विद्यालय छुट्टी भएपछि घरबाट ल्याएका मकै, रोटी, खट्टे, मसाउरो जे छ, त्यही ठाँटीमा बसी सबैले बाँडेर खान्थ्यौँ । कस्तो सौहार्द थियो आपसमा ।
हामी निबुवाबोटका विद्यार्थीलाई छापको गाउँ मुन्तिरबाट आँधीखोला तर्ने ठाउँ पथ्र्यो । पारिपट्टि रङ्गेठाँटीमा हाम्रो स्कुल थियो । हिउँदका बेला त सहजै आँधीखोला तथ्र्यौं । ढुङ्गाका फड्के हुन्थे तर वर्षायाममा आँधीखोला उर्लेर आउँथ्यो । त्यस्तो बेलामा हामी तर्ने ठाउँमा पुल नभएकाले सेती दोभान पुगेर झोलुङ्गे पुल तथ्र्यौं । ढाँडखेत झरेर सेती दोभान बजार हुँदै एकराहे भएर रङ्गेठाँटी पुगिन्थ्यो । बाटो धेरै फेरो पथ्र्यो । यो बाटोलाई एक्कुहार भएर जाने पनि भनिन्थ्यो ।
वारिपट्टि दोकान नभएकाले फापरथुम र निबुवाबोटतिरका मानिस आँधीखोलापारि सेती दोभान बजार जानै पथ्र्यो । हिउँदका बखत झोलुङ्गे पुल जोगाउनैका लागि पुलको मुखमा बार हालिन्थ्यो । त्यसैले मानिसहरू फड्के तरेर खोलावारिपारि गर्थे । वर्षायाममा खोलो ठुलो भएपछि पुलमा लगाइएको बार खोलिन्थ्यो ।
सेती दोभान बजार अति सुन्दर र खास गरी साँझमा बिजुलीबत्तीले झिलिमिली देखिन्थ्यो । त्यहाँ सेतीखोलाबाट बिजुली निकालिएको थियो । त्यतिबेला हामी मटितेल प्रयोग गरी टुकी, पानस, लालटिन बाल्थ्यौँ । सेतीखोला बजारका मानिस आँधीखोलामा लुगा धुने, नुहाउने गर्थे । राम्रा सेता तथा विभिन्न रङका हाँस पौडिरहेका हुन्थे । छेउछाउका खेतमा विभिन्न अन्नबाली तथा तरकारी राम्रो फल्थ्यो । आँधीखोलाले साँच्चिकै वरपरको सभ्यताको जग थामेको थियो । त्यसैताका ठुलो आगलागी खेपेको थियो माथिल्लो दोभानले, जसलाई बगरलुम भनिन्छ । त्यहाँका पसलेहरू जुग्लेमा सरेका थिए र भर्खरै मोटरबाटो खुला भएर कच्ची सडकमा फाट्टफुट्ट बस तथा ट्याक्टर चल्थे । समयक्रममा जुग्ले ठुलो बजार बन्न पुगेको थियो ।
सेती दोभानबाट तलतिर आँधीखोलासँगसँगै टिकाजा, यसो माथिपट्टि दोभानडाँडा हुँदै नाउँडाँडा पर्छ, यहीँ ठाउँमा सिद्धार्थ राजमार्ग जोडिन्छ । त्यसबखत नजिकैको बस स्टेसन यही नै थियो । त्यसताका सदरमुकाम स्याङ्जाबजार जान धेरै जसो हिँडेर ठुलीबेँसी, फूलबारी, पुतलीखेत हुँदै नै गइन्थ्यो । ठुलीबेँसीको गणेशपुर एउटा गहिरो रह थियो । त्यही रहमाथिबाट भएर हिँड्नु पथ्र्यो । मानिसले भिरबाट तलतिर हेर्दा देखिने डरलाग्दो रहमा ‘सिएले तान्छ’ भन्थे, यो सुनेर हामीलाई खुब डर लाग्थ्यो ।
लामसेरा हुँदै थाराफाँटको बाटो जाँदा कहिलेकाहीँ समस्या पथ्र्यो । खोला बढेर तर्न सकिँदैनथ्यो । गाउँका दाइहरूले समाएर हामीलाई तारिदिनुहुन्थ्यो । हातमा चप्पल उनेर खोला तर्दै गर्दा ‘ड्रेस’ सबै जसो चुपिचल्लै भिज्थे ।
आँधीखोला वरिपरि गाउँका सबै जसो केटाकेटी पढ्न रङ्गेठाँटीमा आउँथे । आँधीखोलावारिका गाउँहरू निबुवाबोट, पातीखोला, भुद्रुमपोला, दाद्रा, कान्ला, बिमिराबोट, शेरा, फापरथुम र आँधीखोलापारिका सेतीखोला, सिम्ले, एकराहे, बराहे, बाँसकोट, ओहिया, जुग्लेलगायत ठाउँका केटाकेटी पढ्ने ठाउँ रङ्गेठाँटी नै थियो ।
मैले पढ्न सुरु गर्दा कुलानन्द शर्मा सर प्रधानाध्यापक हुनुहुन्थ्यो । बिहान शारीरिक व्यायाम गराउने र विज्ञान पढाउने कुन्तिकाका खेमनारायण पौडेल सर विद्यार्थीबिच चर्चित हुनुहुन्थ्यो । कत्ति झिँजो नमानी हाँसी हाँसी बोल्नुहुन्थ्यो । शेराका उमाकान्त पौडेल सरले अति सरल सहज तरिकाले माया गरेर नेपाली पढाउनुहुन्थ्यो । उहाँले पढाएको व्याकरण कण्ठस्थ हुन्थ्यो । अङ्ग्रेजी पढाउने भीम सरको अति सुन्दर हस्तलेखन थियो । हामीलाई अङ्ग्रेजी व्याकरण सूत्रसहित पढाउनुहुन्थ्यो । दुर्गानारायण ढकाल सरले भूगोल पढाउनुहुन्थ्यो । उहाँ आफ्नै गाउँको भएकाले अभिभावक जस्तै लाग्थ्यो । साथीहरू मुना, लक्ष्मी, शोभा, दुर्गा, शान्ति, भगवती, पार्वती, जेनी, सन्तोष, सम्राट, बद्री, सालिकराम, सूर्य, सुरेश, नारायणलगायत सबै एउटै कक्षामा पढ्थ्यौँ । गाउँका दिदीहरू कौशिला, सुशीला, मन्जु, तारा, सरस्वती, सरितालगायत सबै माथिल्लो कक्षामा पढ्नुहुन्थ्यो ।
हाफटाइमका बेला वरपर घुम्ने र कहिलेकाहीँ पैसा भएमा होटेलमा खाजा खाने गथ्र्यौं । कान्छी दिदीको पसलमा ताजा र स्वादिलो मटरआलुको तरकारी, मिठो चिया र समोसा पाइन्थ्यो । बाहुन बाजे र आमैकहाँ पिरो पिरो तरकारी र मिठो चप पाइन्थ्यो । कमला तताको पसल त्योबेला अति राम्रो चल्थ्यो । तरकारी, चिया, चाउमिन, समोसा, सेलरोटी र मैदाका पुरी पाइन्थे । रङ्गेठाँटीका सुरेखा, सन्तोष र मञ्जु ‘क्लासमेट’ भएकाले कहिलेकाहीँ ‘डिस्काउन्ट’ पनि मिल्थ्यो । रङ्गेठाँटीको बजार सानो भए पनि सुन्दर थियो । बाटोभरि ढुङ्गाका छपनी थिए, त्यही बाटो ओहिया, जुग्ले, चिलाउने भाटी, झारखोला, थुम, कार्कीनेटा, कुस्मा हुँदै बागलुङसम्म जोडिन्थ्यो । पछि कास्की जिल्लाको पोखराबाट ह्याङ्जा हुँदै बागलुङ जाने मोटरबाटो खुलेपछि यो बाटोको रौनक अलि घटेको हो ।
भरिया र ढाक्रेहरू गरुङ्गा भारी बोकेर हिँडेका बाटामा भेटिन्थे । कोही भारी बिसाएर चियाखाजा खाएका देखिन्थे । कोही खाना पकाउदै खाँदै गरेका देखिन्थे । खच्चडको पिठिउँमा दुवैतर्फ गरुङ्गा भारी अनि एकनास गतिको हिँडाइ । यस्तो लाग्थ्यो बथानमा मिलेर हिँड्दा घाँटीमा झुन्ड्याएको घन्टीको टिङटिङ र पाइलाको आवाजले कुनै एक धुन निकाल्थ्यो ।
रङ्गेठाँटीको विद्यालयनजिकैको आँधीखोला चौरमा चैतेदसैँमा ठुलो मेला लाग्थ्यो । रमाइला खेलहरू खेलाउँथे । मिठाई तथा खेलौना किनबेच हुन्थ्यो । दोभानका चाचाले चनाचटपटे, मुमफली, खुसीसाथ खुवाउनुहुन्थ्यो । कहिलेकाहीँ जादु देखाउने मान्छेहरू आउँथे । सर्प हातमा लिएर नचाउँथे । हामीलाई उत्सुकता र डर दुवै लाग्थ्यो ।
विदेशी पर्यटक कहिलेकाहीँ आउँथे । आँधीखोलाका बगरमा निला पाल टाँगेर एकैछिनमा बस्ने घर र ट्वाइलेट बनाउँथे । हामी दङ्ग परेर हेथ्यौँ । कहिलेकाहीँ स्कुलपछि साथीभाइको लहैलहैमा आँधीखोलामा पौडी खेल्थ्यौँ । एक पटक पौडी खेल्दा बहिनी शान्तुलाई बगाएर अलि तल लगिहाल्यो । हामी जोडले चिच्यायौँ, अरू के नै गर्न सक्थौँ र ? हामीलाई पौडी खेल्न आउँदैनथ्यो । त्यहीबेला साथी एन्जिला ‘एन्जल’ जस्तै बनेर आइन् र बहिनी शान्तुलाई बचाइन् । उनी सेती दोभानमा हुर्केकी भएर उनलाई राम्रैसँग पौडी खेल्न आउँथ्यो । त्यो घटनापछि हामी कहिल्यै पौडिएनौँ । यो घटना घरमा कहिल्यै बताएनौँ तर जब कहीँकतै लोकगीतका यी भाका सुन्छु, विगतका तिनै कहालीलाग्दो पौडी खेल्दाको समय सम्झन्छु ।
आँधीखोला उर्लेर आयो
आउने थिइन मायाले बोलायो