रमेश विश्वकर्मा
गुल्मी, पुस २५ गते । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी (निर्वाचन सेल)ले जारी गरेको सूचना अनुसार जिल्लामा १६ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परीचालनसम्बन्धी एकिकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधी–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले यस जिल्लामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) सारुका अनुसार यस जिल्लामा निर्वाचन प्रहरीका लागि एक हजार १९ जना पुरुष, ६७६ जना महिला माग गरिएको छ । आज पुस २५ शुक्रबारदेखि माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा आवेदन दिन पाइनेछ । निर्वाचन प्रहरी हुनका लागि साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ ।
त्यस्तै शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ४ फिट १० इन्च, तौल ४२ के.जी. भएको, महिलाको हकमा गर्भवती नभएको/नरहेको हुनुपर्ने उहाँले बताउनुभयो । निर्वाचन प्रहरी छनोट गर्नका लागि प्राथमिकताका आधारहरु राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको सेवाबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी वा पूर्व वनरक्षक भएका हुनुपर्नेछ ।
नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालमा वि.सं. २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाको हकमा प्रवेश पत्र पेश गर्ने व्यक्ति, यसअघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएको नेपाली नागरिक हुनुपर्ने बताइएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम छ । उहाँका अनुसार महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता छन् । हालसम्म यस जिल्लामा १४५ मतदानस्थल र २८४ मतदानकेन्द्र कायम गरिएको छ । २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यस जिल्लामा १४ सय ६० म्यादी प्रहरी भर्ना गरिएको थियो । जसमा ११ सय ३२ पुरुष र ३२८ महिला थिए ।