• २५ पुस २०८२, शुक्रबार

नेपाल–युएई सहकार्य विस्तारबारे छलफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबिच आर्थिक सहकार्यका क्षेत्रलाई अझै फराकिलो बनाउँदै जानुपर्ने बताउनुभएको छ । 

ढकालले युएईका आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्तामा यस्तो आवश्यकता औँल्याउनुभएको हो ।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा बुधबार दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–युएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

त्यस अवसरमा उहाँहरूबिच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधि जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तारबारे गहन छलफल भएको थियो । 

अध्यक्ष ढकालले काठमाडौँका लागि इमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक क्षेत्रको विस्तारमा फलदायी हुने बताउनुभयो । 

सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रबिचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा जलविद्युत् पर्यटन, कृषि प्रशोधन, ठुला पूर्वाधार तथा सूचना प्रविधि (आइटी) जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने सकिनेमा जोड दिनुभयो । 

सो अवसरमा युएईको वित्त मन्त्रालयका सचिव अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरप्रति युएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबिचको सहकार्य बढाउन सकारात्मक रहेको बताउनुभएको महासङ्घले जनाएको छ ।