• २५ पुस २०८२, शुक्रबार

लेखा परीक्षणको हब बनाउने पहल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । नेपाललाई विश्वव्यापी एकाउन्टिङ तथा फाइनान्स आउटसोर्सिङ हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ परियोजना सुरु गरेको छ ।

आगामी पाँच वर्षमा ५० हजार र १० वर्षमा डेढ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी लक्ष्यसहित आइक्यानले उक्त परियोजना सार्वजनिक गरेको हो ।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष नीलबहादुर सारूमगरले नेपालमै बसेर विदेशी कम्पनीलाई लेखा, लेखा परीक्षण तथा वित्तीयसेवा प्रदान गरी डलर आम्दानी गर्न सकिने वातावरण बनाउने उद्देश्यले गेन परियोजना अघि बढाइएको बताउनुभयो । हाल पनि नेपाली लेखा व्यवसायीले विदेशी फर्मसँग सहकार्य गरी वार्षिक करिब ३० करोड अमेरिकी डलर बराबरको सेवा निर्यात गरिरहेको उहाँले बताउनुभयो ।

आइक्यानका अध्यक्ष मगरले गेन परियोजना पूर्ण रूपमा कार्यान्वयन हुन सके आगामी १० वर्षमा नेपालले वार्षिक छदेखि सात अर्ब अमेरिकी डलर बराबरको आम्दानी एकाउन्टिङ र अडिटिङ आउटसोर्सिङबाट भित्र्याउन सक्ने दाबी गर्दै भन्नुभयो, “विश्वबजारमा सिए र एकाउन्टेन्टको अभाव बढ्दो छ । आइटी र एआईतर्फ आकर्षण बढ्दा परम्परागत लेखा क्षेत्रमा जनशक्ति सङ्कट देखिएको छ, जुन नेपालका लागि ठुलो अवसर हो ।” हाल नेपालमा करिब २५ हजार लेखा तथा एकाउन्टिङ प्रोफेसनल सक्रिय रहेको उल्लेख गर्दै उहाँले गेन परियोजनामार्फत लेखा र व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थी तथा नवप्रवेशी जनशक्तिलाई विश्वस्तरीय तालिम, प्रविधि र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो । परियोजनाले युवालाई वैदेशिक रोजगारीमा पठाउनेभन्दा पनि नेपालमै बसेर विदेशी काम गर्ने ‘सर्भिस एक्सपोर्ट इकोनोमी’ को आधार तयार गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।

आइक्यानका अनुसार गेन परियोजना अन्तर्गत एकाउन्टिङ आउटसोर्सिङ हब, डिजिटल प्लेटफर्म, इनक्युबेसन सेन्टर स्थापना, अन्तर्राष्ट्रिय लेखा सफ्टवेयर तालिम, क्षमता अभिवृद्धि कार्यक्रम तथा विदेशी फर्मसँग रणनीतिक साझेदारी गरिने छ । बेलायत, अमेरिका, अस्ट्रेलिया, युरोपेली सङ्घलगायत बजारलक्षित नेपालको डिजिटल उपस्थिति सुदृढ बनाइने पनि योजना रहेको छ । कार्यक्रममा आइक्यानका उपनिर्देशक सन्तोष विष्ट, आइक्यानका उपाध्यक्ष आनन्दराज शर्मालगायतले सरकारले नीतिगत तथा कानुनी स्पष्टता, कर सहुलियत, वैदेशिक विनिमय प्रक्रिया सरलीकरण, डाटा संरक्षण कानुन सुदृढीकरण र नेपाली कम्पनीलाई विदेशमा शाखा खोल्न सहज वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । यसमा सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उहाँहरूको भनाइ थियो ।

आइक्यानले गेन परियोजनालाई संस्थागत पहल मात्र नभई राष्ट्रिय अभियानका रूपमा अघि बढाइने जनाएको छ । परियोजना सफल भएमा नेपालको अर्थतन्त्रमा सेवा निर्यातको हिस्सा बढ्दै रोजगारी, आयआर्जन र पेसागत प्रतिष्ठामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा आइक्यानले गरेको छ ।साथै आइक्यानले परियोजना कार्यान्वयनपछि नेपाली अडिट फर्म र यस पेसामा लागेका व्यक्तिबाट अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बढाउँदै सेवा निर्यातमार्फत मुलुकको अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्ने विश्वास गरेको छ ।