• १६ असार २०८१, आइतबार

अध्यक्ष ओली र चियान्चाओबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति सम्बन्धमा छलफल

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा मंगलबार शिष्टाचार भेटवार्ता गर्दै नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओ । तस्बिर : अध्यक्ष ओलीको सचिवालय

काठमाडौं, असार २८ गते। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान्चाओबीच देशको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति सम्बन्धमा छलफल भएको छ।

मंगलबार अध्यक्ष ओली निवासमा भएको उक्त भेटघाटमा राजनीतिमा आइरहेको बदलावका विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो।

सञ्चारकर्मीहरुसँग बोल्नुहुँदै डा. भट्टराईले दुवै पक्षबाट पारस्परिक हित र लाभका आधारमा सम्बन्ध र मान्यता अघि बढाउने विषयमा छलफल भएको बताउनुभयो। चिनियाँ विदेश विभाग प्रमुख लिउले चीनले नेपालको विकासलाई निरन्तररुपमा अघि बढाउन चाहेको र अध्यक्ष ओलीले नेपाल विगतदेखि एक चीन नीति, नेपाली भूभाग चिनियाँ वा अरु कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “चीन र नेपालको सम्बन्ध धेरै अघिबाट राम्रो र सुमधुर रहँदै आएको छ। आजको बदलिँदो परिवेश जुन छ, क्षेत्रीय राजनीतिमा आइरहेको बदलाव, अन्तर्राष्ट्रिय राजनीतिमा आइरहेको बदलावसँग पनि चीन र नेपालका जुन सम्बन्धका आधार हिजो तय गरिएका थिए। अर्थात् पारस्परिक समानताका आधारमा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त र एकले अर्कालाई पारस्परिक हित र लाभका आधारमा सम्बन्ध अघि बढाउने आधार र मान्यताहरु थिए, ती अहिले पनि कायम छन्।” यस विषयमा दुवै पक्षबाट प्रतिवद्धताहरु जाहेर भएको जनाइएको छ। 



यससँगै भेटघाटका क्रममा नेपालका कम्युनिष्ट पार्टीको मिलाप र एकीकरणको विषयमा पनि छलफल भएको उहाँको भनाइ छ। तर, यो नेपालको आन्तरिक मामिलाको कुरा भएकोले यसमा चीनले कुनै धारणा नराख्ने चिनियाँ पक्षले स्पष्ट पारेको उहाँले बताउनुभयो।

आइतबार चार दिने नेपाल भ्रमणमा आउनुभएका चियान्चाओले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। 

सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो। चियान्चाओको बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र बुधबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ।